ढल्यो हसिनाको शासन, प्रधानमन्त्री निवासमा छिरे आन्दोलनकारी

19
photo: REUTERS

बीबीसी । बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि भारत पलायन भएको विवरणहरू आइरहँदा देशका सेना प्रमुखले देशवासीका नाममा सम्बोधन गर्दै अब एउटा अन्तरिम सरकार गठन गरिने बताएका छन्। प्रधानसेनापति वकर उज्जामनले आफू राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग भेट गर्न जाने बताउँदै दिनको अन्त्यसम्ममा कुनै समाधान हासिल हुने पनि बताए। तर सरकारको नेतृत्व कस्ले गर्ने भन्ने स्पष्ट भएको छैन।

राजधानी ढाकामा हजारौँ प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका छन्। बीबीसी बाङ्ग्ला र अन्य सञ्चारमाध्यमले प्रधानमन्त्री हसिना आफ्नी बहिनीसँगै हेलिकप्टर चढेर छिमेकी देश भारतको त्रिपुरा राज्यस्थित अगरतलातिर गएकी बताएका थिए। समाचार संस्था एफएपीसँग हसिनासँग निकट स्रोतले यसको पुष्टि गरेका छन्। ती अधिकारीले एएफपीसँग भने, “उनी र उनकी बहिनीले गणभवन छाडेका छन् र सुरक्षित ठाउँका लागि हिँडेका छन्। जानुअघि उनी आफ्नो वक्तव्य रेकर्ड गराउन चाहन्थिन् तर उनलाई त्यसको अवसर दिइएन।” रोएटर्सले सैनिक हेलिकप्टर चढेर उनी र उनको परिवारका सदस्यहरू भारतका लागि हिँडेको जनाएको छ। सरकारी जागिरमा आरक्षणको विषयप्रति असन्तुष्ट विद्यार्थीहरूले प्रदर्शन गर्न थालेपछि आन्दोलन चर्किएको थियो। उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका थिए।

टेलिभिजनमा प्रसारित दृश्यमा प्रधानमन्त्रीको सरकारी निवासमा प्रदर्शनकारीहरू छिरेको देख्न सकिन्छ। केही प्रदर्शनकारीले त्यहाँ लुटपाट गरेको दृश्य सार्वजनिक भएको छ। केही मानिसले कुर्सी र सोफा बोकेर बाहिर हिँडेको देखिन्छ। प्रदर्शन गर्न सडकमा पुगेका मानिसहरूले हसिना सत्ताबाट बाहिरिएपछि हर्षोल्लास गरेका छन्।