मोहर्रम पर्व मनाउँदै मुस्लिम समुदाय

19

भैरहवा : मोहर्रम पर्व धुमधामका साथै मनाइँदै छ। हसन र हुसेनको प्रतीकस्वरूप ‘ताजिया’ निर्माण गरी यो पर्व मनाइँदै छ। मनोकामना पूर्ण हुने आशामा वा पूर्ण भएपछि ताजिया बनाउने गरिएको छ। भैरहवा बाहिर पनि धकधई, मर्चवारलगायत क्षेत्रमा धुमधामका साथ मोहर्रम मनाइन्छ। ​ताजियासँगै जुलुस निकालिन्छ र त्यसपछि यो प्रतीकात्मक रूपमा विर्सजन गरिन्छ। मोहर्रमको १०औँ दिन आशुराको दिन र हुसेनको बहादुर बलिदानको सम्झना दिन हो। हिन्दू तथा मुस्लिम समुदायले समानरूपले मनाउने यो पर्व १० दिनको भए पनि मुख्य रूपमा चार दिन मनाइन्छ। केराको पात काटी गाड्ने, मोहर्रमको एक दिन पहिला बनाएको ताजिया बाहिर निकाली ‘चौकी’ बसाल्ने तथा अन्तिम दिन सम्बन्धित क्षेत्रको सम्पूर्ण ताजिया एकजुट पारी स्थानीय कर्बलामा लगी विर्सजन गरेपछि मेला समापन हुन्छ।

बाँसको ढाँचामा विभिन्न रङ्गीचङ्गी कागज बेरी ताजिया बनाई त्यसको वरिपरि तासा, ढोल तथा मजिराजस्ता बाजा बजाई, झर्रा खेल्दै परिक्रमा गरे आफूले चिताएको मनकामना पूर्ण हुने विश्वासका साथ यो पर्व मनाउने गरिएको भैरहवामा लगातार ताजिया बनाउँदै आएका रमजान मुसलमान बताउँछन्। यो ताजियालाई आज कर्बलामा विर्सजन गरी समापन गरिँदैछ। हजरत इमाम हुसेनले इस्लाम र मानवताको रक्षा गर्न आफ्नो परिवार र साथीहरूको बलिदान दिएको सम्झनामा ताजिया निस्कने गरेको छ। ताजियालाई शहीदहरूको प्रतीक मानिन्छ।