कोन्ज्योसोममा सार्वजनिक सुनुवाई सम्पन्न

25

ललिपतुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालित वार्षिक कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार गाउँपालिकामा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकास्तरीय तथा वडास्तरीय रुपमा सञ्चालित विकास निर्माणका आयोजना तथा कार्यक्रम र सेवा प्रवाहका सम्बन्धमा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो । यस अगाडि गत फागुनमा पनि गाउँपालिकाले वडास्तरीय हुँदै गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाइ सम्पन्न गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्षमा गाउँपालिकाले सञ्चालन गरेको विकास निर्माण तथा सेवा प्रवाह लगायतका विषयमा गाउँपालिकास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको बताए । अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि,कर्मचारी, शिक्षक, स्वास्थ्य संस्थाका प्रतिनिधि सेवाग्राही लगायतका सहभागितामा सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिए ।

स्थानीय सरकार सञ्चालन ऐन र सुशासन सम्बन्धि ऐनमा स्थानीय तहले वार्षिक रुपमा गरेका कार्यको बारेमा सेवाग्राहीसहितको सरोकारवालाको उपस्थितिमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने व्यवस्था अनुसार कोन्ज्योसोम गाउँपालिकाले गत फागुनमा र असारमा गरी दुई पटक सार्वजनिक सुनुवाइ सम्पन्न गरेको हो । सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय सहभागिहरुले गाउँपालिकाले सबै वडामा विकास निर्माणको कामलाई समान रुपमा अगाडि बढाउनुपर्ने, भौतिक विकाससँगै मानविय विकास, शिक्षा, स्वास्थ्य रोजगार, गाउँपालिका र वडा कार्यालयबाट प्रदान गरिने सेवालाई सहज र अझ व्यवस्थित बनाउनुपर्ने लगायतका गुनासो गरेका थिए । सहभागिले राखेको प्रश्नको जवाफ दिँदै गाउँपालिका अध्यक्ष लामा र उपाध्यक्ष राजनप्रसाद घिमिरेले सार्वजनिक सुनुवाइमा उठेका सवाललाई गाउँपालिकाले नीतिगत र व्यवहारिक रुपमा सम्बोधन गर्ने बताए ।