काठमाडौं । हिजोदेखि लगातार परेको झरीले जनजीवन अस्तव्यस्त भएको छ । आज शुक्रबार बिहानै मात्रै कास्की, म्याग्दी, नारायणगढ मुग्लिन सडकलगायतका स्थानमा पहिरो आउँदो १४ जनाको मृत्यु भएको छ ।
कास्कीमा मात्रै ११ जनाको मृत्यु
पोखरा महानगरपालिकामा गएराति पहिराले घर पुरिँदा एकै परिवारका ७ जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नं. १९ पुरुन्चौर ठाँटीका कुलबहादुर परियारको घर गएराति पहिरोले पुरिँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा कुलबहादुर परियार, मनकुमारी परियार, लक्ष्मी परियार, प्रशना परियार, प्रभाव परियार, अमित परियार र राधिका परियार छन् । पहिरोमा पुरिएका उक्त परिवारका २ जनाको उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । पहिरोले पोखरा-३२ चैनपुर र मादी ११ तल्लो साप्लेमा पनि थप ३ जनाले ज्यान गुमाएका छन् । पोखरा ३२ को चैनपुर बाह्रबिसेमा पहिरोले एक युवतीको ज्यान गएको छ । मृत्यु हुनेमा १८ वर्षीया अनिता ओझा छिन् । आरती ओझाको एकतले घर पहिरोले पुरिएको हो । उक्त घटनामा २५ वर्षीय युवक बेपत्ता छन् ।
म्याग्दीमा दुई जनाको मृत्यु
म्याग्दीको धौलागिरि गाउँपालिका ७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा तुलप्रसाद न्यौपाने र उनकी श्रीमती बालकुमारी न्यौपानेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरि नारायणगढ मुग्लिन सडकमा पहिरोसंगै आएको ढुंगाले लागेर एक जना चालकको मृत्यु भएको छ । अन्य घटनाको थप विवरण आउन बाकीँ रहेको प्रहरीले जानकारी दिएको छ ।