मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मकवानपुर जिल्ला सचिवालय सचिव भुवन खनालसहित ६ जनाले पार्टी परित्याग गरेका छन्। पार्टी परित्याग गर्नेहरूमा जिल्ला सचिवालय सचिव भुवन खनाल, संघीय क्षेत्र नं १ का उपसभापति जगदीश दाहाल, हेटौंडा उपमहानगर समिति सदस्य टंक बहादुर हिम्डुङ, हेटौंडा १२, सिंगो वडा समिति उपसभापति निर्मला प्रजा बास्तोला छन्।
हेटौंडा १७ का उपसभापति विकास श्रेष्ठ, सचिव श्याम सुन्दर राईले पनि पार्टी छोडेका छन्। केही दिनअघि ६ जनाले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिल्लाभित्र बलियो बनाउन हामी निःस्वार्थ भई लाग्दै आएका थियौं। तर, पार्टीले लिएको अहिलेको कार्यदिशा परिवर्तन भन्दा पनि सत्तालिप्सा र भागबण्डामा केन्द्रित भएको अनुभूति हामीसहित सबैले गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीका कार्यकर्ता, शुभचिन्तक, एवम् आम नेपाली जनतालाई भ्रममा पार्ने मात्रै काम पार्टी नेतृत्वबाट भएको महसुस गर्दै आजकै मितिबाट साधारण सदस्य समेत नरहने गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको घोषणा गर्दछौं।’
उनीहरूले पार्टी सत्तालिप्सा र भागबन्डामा केन्द्रित भएकाले साधारण सदस्यसमेत नरहने गरी रास्वपाबाट अलग भएको घोषणा गरेका हुन्।