गर्भ नरहने जोखिमका मुख्य पाँच कारण

17

गर्भ नरहनुका धेरै कारण छन्। तीमध्ये मुख्य पाँच कारण यस्ता छन्,जसले गर्भ नरहने जोखिम बढाउँछ। सहज तरिकाले गर्भ नरहे विभिन्न उपचारका प्रविधि पनि आइसकेका छन्। त्यसैले अहिले अधिकांश इनफर्टिलिटी समस्याको उपचार सम्भव भएको छ। गर्भ नरहनेको जोखिमको पहिलो कारण बढ्दो उमेर हो। महिलाहरूमा ३५ वर्ष कटेपछि अण्डाको मात्रा र गुणस्तर घट्दै जान्छ। गर्भ नरहने जोखिमको दोस्रो कारण संक्रमण हो। संक्रमणले ट्युब बन्द हुन्छ। जसले गर्दा बच्चा नबस्ने जोखिम हुन्छ। ट्युबमै बच्चा बन्ने हो। डिम्बासयबाट अण्डा ट्युबमा आउँछ। पाठेघरबाट स्पर्म ट्युबमा जान्छ। ट्युबमा बच्चा बन्छ र पाठेघरमा बस्छ। कुनै संक्रमणको कारणले ट्युब बन्द हुन्छ भने बच्चा बस्दैन। तेस्रो कारण पुरूषमा देखिने इनफर्टिलिटी हो। पुरूषमा हुने तनाव, काम गर्ने वातावरण, स्वास्थ्य, डाइबिटिज, मोबाइल लगायतका विद्युतीय सामग्रीको प्रयोगले इनफर्टिलिटी बढाउन सक्छ।जसले गर्दा गर्भ नरहने जोखिम हुन्छ। चौथो कारण पाठेघरको रोग हो। पाठेघरमा ट्युमर, डिम्बासयमा सिस्ट भयो भने समेत गर्भ नरहने जोखिम हुन्छ। पाँचौं कारण भने थाहा नै हुँदैन। सबै खालको परीक्षण गर्दा समेत यसको कारण थाहा नहुने हुन्छ। यस्ता अरू कारण पनि छन्। जुन मोटोपना हो। त्यस्तै वंशाणुगत कारण, पाठेघरको संरचना ठिक नहुनु लगायत छन्। असुरक्षित गर्भपतनले समेत गर्भ नरहने समस्या बढ्छ। असुरक्षित गर्भपतन गर्दा ट्युब बन्द हुन्छ। जसले गर्दा इनफर्टिलिटी बढाउँछ। त्यसैले सकेसम्म गर्भपतन गर्न हुँदैन। यदि गर्नै परेमा सुरक्षित तरिकाले गर्नुपर्छ।

धेरै पुरूषहरू वैदेशिक रोजगारीमा छन्। स्वदेश आउँदा जम्मा २ महिनाको छुट्टी हुन्छ। त्यो समयमा गर्भ रहन्छ भन्ने हुँदैन। त्यसैले यस्ता पुरूषले आफ्नो स्पर्म फ्रिज गरेर राख्ने हो भने त्यसलाई श्रीमतीको गर्भमा राख्न सकिन्छ। गर्भ नरहने समस्याबाट जोगिने उपाय पनि छन्। एउटा त समयमै बिहे गर्ने र सन्तान जन्माउने हो। महिलाको मात्र उमेरले फरक पार्ने होइन, पुरूषलाई समेत उमेरले असर पार्छ। ४० वर्ष कटेपछि पुरूषको प्रजनन क्षमता कम हुँदै जान्छ। पाठेघरको ट्युमर छ भने त्यसलाई लेप्रोस्कोपिक प्रविधिबाट निकाल्न सकिन्छ। इन्टरकोर्सको समय थाहा नहुँदा समेत सामान्य तरिकाले गर्भ नरहने समस्या बढेको छ। हप्तामा १/२ पटक मात्रै इन्टरकोर्स गर्‍यो भने बच्चा नबस्न सक्छ। पुरूषमा तनाव बढ्यो भने समेत यस्तो हुन्छ। गर्भ नरहने समस्या भयो भने महिलाले मात्र परीक्षण गरेर हुँदैन। त्यसको लागि श्रीमानश्रीमती दुवैले परीक्षण गर्नुपर्छ। हिजोआज दुवै जनाले परीक्षण गर्न थालेका छन्।

(वरिष्ठ प्रसूति तथा स्त्री रोग एवम् टेस्टट्युब बेबी विशेषज्ञ डा. नुतन शर्मा बि एण्ड बि हस्पिटलमा कार्यरत छन्।)