Friday, September 18, 2026
Home समाज इतिहासकार ज्ञानमणि नेपालको निधन

इतिहासकार ज्ञानमणि नेपालको निधन

40

काठमाडौँ : इतिहासकार ज्ञानमणि नेपालको ९२ वर्षको उमेरमा निधन भएको छ। मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियोभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आज मध्याह्न निधन भएको हो।इतिहासकार नेपालका भाइ एकमणि नेपालका अनुसार पशुपतिस्थित आर्यघाटमा उनको अन्तिम संस्कार गरिनेछ। इतिहासकार नेपालका दुईजना छोरा छन्।

नेपाललाई एक सिद्धहस्त, नेपालको सांस्कृतिक इतिहासका ज्ञाता र खोजकर्ताका रूपमा चिनिन्छ। भोजपुरमा विसं १९८९ माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमीका दिनमा जन्मिएका उनले खोटाङमा कार्यक्षेत्र बनाई कौमुदी, चण्डीबाट शिक्षा आर्जन गर्न शुरु गरेका थिए। काठमाडौँमा आई इतिहासप्रति अभिरुचि राखेर नेपालले अध्ययन गरी इतिहाससम्बन्धी अनेकौँ कृति प्रकाशन गरेका छन्। नेपालका ‘नेपाल निरुपण’, ‘नेपाल निरुक्त’, ‘नेपालको महाभारत’, ‘पशुपतिनाथको दर्शन, स्पर्शन, पूजन’, ‘पुराना कविता’लगायत दुई दर्जन कृति प्रकाशित भएको लेखक एवं साहित्यकार हरिप्रसाद सोडारीले जानकारी दिए। नेपालले नयराज पन्तसँग शिक्षा आर्जन गरेका थिए। नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य रहिसकेका नेपाल वृद्धावस्थामा पनि इतिहासको खोज, अध्ययन र अनुसन्धानमा सक्रिय थिए।