कविताः क्षितिज पारिको यात्रा

52

-राम शरण देउजा

क्षितिज पारी पुग्ने रोमांञ्चक सपना काँधमा बोकी
मेरा पाईलाहरु एकनास निरन्तर हिंडिरहेका छन्
पाईलाहरु कयौं पटक लडखडाए, थाके र सुस्ताए
पछारिए लडे तर मेरो सपना लडेनन, पछारिएनन्
उँठे, ठडिए पाइला लतार्दै निरन्तर अगाडी बढिरहे ।

मेरो यात्रा नदि बगे झै अविरल बगिरह्यो रोकिएन
क्षितिज पारिको यात्रा नै जिवनको लक्ष्य भयो
दुःख भुले सुख त्यागे निस्वार्थ कर्म निरन्तर गरिरहे
हिजो ओरिपरी घुम्नेहरु आज मलाई बिर्सिएर छुटे
कोहि बितेर छुटे, कोहि लुटेर, कोहि अघाएर छुटे
जति छुटे त्यो भन्दा बढी जुटे यात्राका सहयात्री बनेर ।

यात्रा यो सजिलो पनि छैन, त्यति गार्हो पनि होईन
यो यात्रामा अब म हिजो जस्तो एक्लो पनि त छैन
थाहा छ म यो यात्राम फेरि पटक पटक थाक्ने छु
थाके भने चौतारीमा उनी सँगै केहिबेर सुस्ताउने छु
गन्तव्य नभेटी अब नमोडिने, विश्राम नलिने सोचमा छु
कोहि अझै पक्कै छुटने छन तर बिचलित हुने छैन ।

थाहा छ, गुमाउनुको पनि आफ्नो अलग्गै मुल्य हुन्छ
कर्म, कर्तव्यको पालना नै यात्रा सफलताको मार्ग हो
हतारो पनि गर्नु छैन तातो खाउ जल्दी मरौ जस्तो
जीवन अझै लामो जिउनु छ अग्राखको काठ जस्तो
मलाई निदाउन नदिइरहेको मेरो रोमाँञ्चक सपना
त्यही सफलताको मार्ग पच्छ्याउदै भेट्टाउने छु एक दिन
कसैको शुभकामना र बधाईको अपेक्षा र भोक बिना
क्षितिज पारीको मेरो यो यात्रा टुङ्ग्याउने छु त्यही दिन ।।

धन्यवाद !
-भक्तपुर