भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले सबै मानिसले आफ्नो दायित्व पुरा गरे मात्र समाजमा परिवर्तन हुने बताएका छन् । नगरस्तरिय विपद व्यवस्थापन समितिको बैठकलाई बुधबार सम्बोधन गर्दै नगरप्रमुख खत्रीले भने “विपद जोखिम न्यूनिकरण गर्न स्थानिय सरकारले चाहेर मात्रै संम्भव हुदैंन ।”
सडक सुरक्षार्थ राखेका ऐना सिसा फुटाउने मानसिकताको अन्त्य नभएसम्म दुर्घटना कम गराउन जति ऐना राखेपनि काम नहुने उनको भनाई छ । नगर प्रमुख खत्रीले भैपरि आउने विपदको असरलाई कम गर्न सबै क्षेत्र एकजुट हुनुपर्ने बताए ।
हामी चाँगुनारायण नगरपालिका सबै विपद न्यूनिकरणकोलागि सदैव तयार छौं भन्दै नगरप्रमुख खत्रीले वडास्तरसम्म संयन्त्र बनाइ सकेको जानकारी दिए । नगरको करिब १९ प्रतिशत भूभाग वन क्षेत्रभित्र २७ वटा सामुदायिक वन समिति रहेकाले सबैलाई वनमा हुने आगलागीबाट क्षति कम गर्न सचेत गरिएको बताए ।
त्यसकोलागि हामीले पानी भण्डारण, अग्नीरेखा बनाउने काम गर्ने र मुहान पोखरीमा पानी भर्ने कार्यकोलागि तयारी अन्तिम चरणमा रहेको नगरप्रमुखले जानकारी दिए । केही नीतिगत समस्या भएकाले आउने नगरसभाबाट विपद जोखिम न्युनिकरण सम्बन्धी कार्यविधि केही संशोधन गर्नेछौं, नगरप्रमुख खत्रीले भने ।
बैठकमा वडा नं. ६ का वडा अध्यक्ष धन बहादुर लामाले धुम्रपान गरेर जथाभावी छोड्नाले वनमा आगो लाग्ने गरेको भन्दै चैत बैशाखको समयमा पटक–पटक वनमा आगलागिबाट धेरै क्षति हुने गरेको बताए । उनले दमकलमा पानी भर्ने ठाउँको अभाव र पाइप समेत छोटो हुनाले वनमा अलागेको आगो निभाउन समस्या भएको गुनासो गरे ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति पशुराम पाण्डेले जुनसुकै विपदको वेलामा रेडक्रस सधै तयार रहेको जानकारी दिए । समुदायस्तर बाट नै विपद र त्यसपछिको क्षति कम गर्न सक्रियता जनाउन पर्ने उनको भनाई छ ।
चाँगुनारायण नगरपालिका विपद शाखाका संयोजक दिनेश थापाले नौ वटै वडामा विपद व्यवस्थापन समिति गठन गरिएको जानकारी दिए । थापाले सम्बन्धीत सबै सरोकारवालासंग छलफल गरि विपदका सबै अवस्थामा कसरी सक्रिय हुने भन्ने तयारीका साथ रहेको बताए । हालै मात्र ८१ जनालाई विपदबाट हुने क्षति कम गर्न तालिम समेत दिइएको जानकारी दिए ।
बैठकमा नेपाली कांग्रेसका चाँगुनारायण नगर सभापति शिवहरि के.सी, नेकपा एमालेका जयराम बास्तोला, नेमकिपाका सन्तराम दुलाल, राप्रपाका रमेश अधिकारी, रास्वपाका रोशन थापालगायतले नगरपालिका भित्र हुने विपद जोखिम न्यूनिकरण गर्न सधै प्रतिवद्ध रहेको बताए ।