भक्तपुर । नेकपा एमालेका अध्यक्ष एव्म पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्यताको भरमा अब पार्टीले टिकट नदिने बताएका छन् । पार्टीको बागमती प्रदेश कमिटिले आयोजना गरेको जनप्रतिनिधिहरुको तीन दिने प्रशिक्षण कार्यक्रमलाई विहिबार भक्तपुरको बोडेमा सम्बोधन गर्दै ओलीले भने “अब व्यक्तिको काम हेरेर मात्र टिकट दिन्छौं ।”
मैले यति वर्ष भो पार्टीको सदस्य बनेको भनेर घमण्ड गर्नु भन्दापनि जनता र पार्टीको काममा सक्रिय भएकाहरुको मुल्यांकन हुने एमाले अध्यक्ष ओलीको भनाई छ ।
एमालेका हरेक तहले प्रशिक्षण र भेलाहरु हुने त्यसपछि परिक्षा लिएर उतिर्णको रेकर्ड माथिल्लो तहमा पठाउने व्यवस्था हुनेछ, ओलीले भने ।
पार्टीले लिएको परिक्षामा पास भएकाले मात्रै पार्टीभित्र र मुलुकमा हुने निर्वाचनमा टिकट पाउने उनले बताए ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताको दैनिकसंग जोडिएका कामहरु गर्नु पर्ने भन्दै ओलीले त्यसले मात्र स्थानिय तहको संम्वृद्धि आउने बताए ।
वडा, नगर, जिल्ला र प्रदेशले सिफारिस गरेको भरमा टिकट दिने विगतको परिपाटीलाई बदल्दै अब काम र सक्रियताको मुल्यांकन भरिएको फारम अनुसार हुनेछ, एमाले अध्यक्ष ओलीले भने ।
बुधबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटका अध्यक्षहरु, बागमती प्रदेशमा एमालेबाट निर्वाचित नगरप्रमुख, उपप्रमुख, एक जिल्लाबाट एक वडा अध्यक्षलगायत एक जनाभन्दा धेरैको सहभागीता रहेको प्रदेश कमिटिकी सहसचिब भक्तकुमारी लामाले जानकारी दिएकी छिन् । लामाका अनुसार शुक्रबार प्रशिक्षण कार्यक्रमको समापन हुनेछ ।














