मित्रश्री पाठशाला यसरी मनायो अभिभावक दिवस, तस्विरमा हेरौं

62

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटमा रहेको मित्रश्री पाठशालाको अभिभावक दिवस तथा आफ्नो स्थापना दिवस मनाएको छ । सो अवसरमा चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले दुवाकोट नगरकै व्यवस्थित शहर भएको बताएका छन् । द्रुत शहरीकरण र सुविधाका कारण वडा नम्बर २ स्थित दुवाकोट अन्य वडाको तुलनामा अगाडी रहेको उनको भनाइ छ ।

मित्रश्री पाठशालाको अभिभावक दिवसलाई सम्बोधन गर्दै मेयर खत्रीले दुवाकोट स्वास्थ्य र शिक्षाको हब हुने समेत बताए । वीर अस्पताल दुवाकोटमै बन्ने बताउदै उनले दुवाकोटको शहरीकरणलाई थप व्यवस्थित बनाइने बताए । निर्धारित समयमा बन्न नसकेर धुलाम्मे भएको दुवाकोट सडक केही सातामै कालोपत्रे हुने ठोकुवा गर्दै उनले वीर अस्पताल पुग्ने करिडोरको बाटो पनि नमूना योग्यगरी बनाइने बताए ।

शिक्षाको लागि बच्चालाई टाढाको विद्यालय पठाउन पर्ने अवस्था नरहेको जिकिर गर्दै मेयर खत्रीले नगरका सामुदायिक र सस्थागत विद्यालयले महानगरका विद्यालयसंग प्रतिस्पर्धा गरिरहेका विश्वास व्यक्त गरे । विद्यालयले शिक्षा, दीक्षा र अतिरिक्त क्रियाकलापमा कुनै कन्जुस्याई नगर्न पनि उनले निर्देशन दिएका छन् । शिक्षालाई बैज्ञानिक, व्यवहारिक र बालमैत्री बनाइनुपर्नेमा उनको जोड रहेको छ ।

उक्त अवसरमा वडा नम्बर २ का वडाध्यक्ष सोमप्रसाद प्रधानले मित्रश्रीले विद्यार्थीलाई पढाइका साथसाथै सामाजिक कार्यमा समेत सरिक गराउदै आएको स्मरण गरे । वडामा रहेका सबै विद्यालयलाई थप व्यवस्थित बनाइने उनले बताए । छात्रवृत्ति पाउनुपर्नेले नपाउने र नपाउनुपर्नेले पाउने अवस्था आफ्नो वडामा नहुने समेत उनको भनाइ छ ।

वार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक दिपक बिष्टले विद्यालयको विगत स्मरण गर्दै वर्तमानका शैक्षिक उपलब्धिबारे बताए भने भावी योजना पनि सार्वजनिक गरेका छन् । दुवाकोट मोडमै रहेर मित्रश्रीले शिक्षाको उज्यालो छरिरहेको र आफ्नो बेग्लै पहिचान बनाएको उनले बताए । पर्याप्त भौतिक पूर्वाधार र विषय विज्ञ शिक्षकको साथमा मित्रश्री पाठशालाले गुणस्तरीय शिक्षा दिन सफल भएको उनको दावी छ । 

विद्यालयका संचालक एवं व्यवस्थापक नविन बुढाथोकीले संचालन गरेको कार्यक्रममा वडाका निर्वाचित जनप्रतिनिधिहरु, पूर्व वडाध्यक्ष शिवहरि केसी, समाजसेवी हिक्मत सिंह लेकाली, चाँगुनारायण नगर प्याब्सनका अध्यक्ष एवं नर्थ इस्टका संचालक राममणी न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।

समारोहको दोश्रो सत्रमा विद्यालयका विद्यार्थीहरुले गायन, नृत्य लगायत विविध प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा उनले विद्यालयका बिभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरु त्यसैगरी अभिभावक र शिक्षकहरुलाई समेत सम्मानित गरेका थिए ।