भक्तपुर । क्वालिटी ईंग्लिश सेकेण्डरी स्कूलले आफ्नो रजत जयन्ती महोत्सव भव्य रुपमा मनाएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोट फेदीमा अवस्थित सो विद्यालयको रजत जयन्ती सोमबार भक्तपुरमा सम्पन्न भएको हो । वि. सं. २०५५ सालमा स्थापित सो स्कूलको रजत जयन्तीको अवसरमा शिक्षक, विद्यार्थी सम्मान, पुरस्कार वितरणका साथै सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले क्वालिटी स्कूलको मिहिनेत र लगन नै स्कूलको सफलताको रहस्य रहेको बताए । उनले पाठ्यपुस्तक र पाठ्यक्रमले विद्यार्थीलाई सर्टिफिकेटमात्र दिने जीवन नदिने भएकाले अतिरिक्त क्रियाकलापले बालबालिकाको सर्वाङ्गीण विकास गराउने चर्चा गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि क्वालिटी स्कुल उत्कृष्ट शैक्षिक केन्द्र बनेको जनाए ।
रजत जयन्तीका अवसरमा गीतकार तथा लेखक हरिहर तिमिल्सिनाले अहिलेका पुस्ता व्यक्तिवादी बन्दै गएको उल्लेख गर्दै अहिलेको शिक्षालाई सीप र संस्कारसँग जोड्नुपर्ने बताए । उनले विद्यार्थीलाई पाठ्यपुस्तकमात्र नभएर अन्य थप र अतिरिक्त पुस्तकहरू समेत अध्ययन गराउनका लागि अनुरोध गरे ।
कार्यक्रममा नेशनल प्याब्सन भक्तपुर अध्यक्ष संजय खड्काले संस्कार र व्यवहारका लागि अभिभावकीय भूमिका महत्त्वपूर्ण हुने चर्चा गरे । उनले क्वालिटी स्कुलजस्तै संस्थागत विद्यालयले गुणस्तरीय शिक्षा दिइरहेको बताए । बालबालिकालाई हुर्काउने विषयमा अभिभावक सचेत हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष खड्काले विद्यालय छनोटमा हुने अभिभावकीय कमजोरीले विद्यार्थीको भविष्यमा असर पर्ने जनाए ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका शिक्षा शाखाका अधिकृत दिनेश अर्यालले विद्यालयको सफलताको लागि शुभकामना व्यक्त गर्दै बालबालिकालाई पढाइमा मात्र जोड दिँदा विद्यार्थी तनावमा रहनेतर्फ अभिभावक सचेत हुनुपर्ने बताए । उनले विद्यार्थीलाई उत्प्रेरित गरेमात्र पढाइप्रति लगाव बढ्ने भएकाले जीवनको तयारी गराउन अभिभावकले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा विद्यालयका प्रिन्सिपल जीबी खड्का, भाइस प्रिन्सिपल राम नेपाल तथा तहगत इन्चार्ज, शिक्षक तथा कर्मचारीलगायतलाई सम्मान गरेका थिए । स्कूलमा १० वर्ष अध्यापन गरेकी शिक्षक ममता खड्का र बस चालक कर्मचारी कान्छाबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कक्षागत रूपमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरणसहित सम्पन्न रजत जयन्तीका अवसरमा क्वालिटी स्कूलबाट एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको थियो । मस्ट क्लिन स्टुडेन्ट अफ दि इयरमा प्रियान्सु खड्का, अनुशासित विद्यार्थीमा प्रनिश गिरी, नियमित स्कुल आउने विद्यार्थीमा आरोही बजगाईँ, मनिष गिरी र आयुषा नेपाल र वर्षकै सर्वोत्कृष्ट विद्यार्थी अवार्डबाट विद्यार्थी आयुषा नेपाल सम्मानित भएका छन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिबोधन लामिछानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा विद्यालयका प्रिन्सिपल जीबी खड्काले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरे । प्रिन्सिपल खड्काले विद्यालयको भावी कार्यक्रम प्रस्तुत गर्दै विद्यार्थीलाई आत्मनिर्भर र अनुशासित बनाउन विद्यालय कटिबद्ध रहेको उल्लेख गरे । उनले अभिभावकहरुलाई शिक्षा उद्दमशिलताका लागि हो भन्ने कुरा आ आफ्ना बालबालिकाहरुलाई सिकाउन अनुरोध गर्नुका साथै पठन संस्कृतिको विकास सबैले गर्नुपर्नेमा जोड दिएका छन् ।