काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको गएको पुस २७ गते कैलालीको टीकापुरमा महाधिवेशन सम्पन्न भएको थियो । सो महाधिवेशनले रेशम चौधरीलाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको थियो भने उनकी श्रीमती समेत रहेकी रञ्जिता श्रेष्ठलाई उपाध्यक्षमा निर्वाचित गरेको थियो। त्यसअघि रञ्जिता अध्यक्ष थिइन्।
बिहीबार बसेको आयोगको बैठकले पार्टी अध्यक्षमा चौधरी निर्वाचित भएको नागरिक उन्मुक्ति पार्टीको निवेदन अस्वीकार गरेको सहसचिव यज्ञ भट्टराईले जानकारी दिए्का छन् । आयोगले त्यस उजुरीपछि रेशम चौधरी र नाउपासँग छुट्टाछुट्टै प्रश्न सोधेर जवाफ माग गरेको थियो। जवाफ पाएको केही समयपछि बिहीबार आयोगले रेशम चौधरीलाई अस्वीकार गर्दै रञ्जिता श्रेष्ठलाई नै अध्यक्षमा कायम गरेको हो।
आयोगले चार वटा कारण पेश गरी यसबारे निर्णय गरेको जनाएको छ। आयोगले पहिलो कारणमा रेशम चौधरी कर्तव्य ज्यानसम्बन्धी कसुरमा सर्वोच्च अदालतबाट दोषी ठहर भई सजाय भोगेकाले ‘नैतिक पतन’ भएका व्यक्तिलाई कुनै दलको सदस्यता दिन नहुने भनेको छ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ मा कस्तो व्यक्तिलाई दलको सदस्यता दिने भन्ने उल्लेख छ। चौधरी अध्यक्ष चयन भएको जानकारी अद्यावधिक गराउन भन्दै नाउपाले माघ २९ गते निर्वाचन आयोगलाई निवेदन दिएको थियो। उक्त निवेदनसँगै आयोगमा दुई वटा छुट्टाछुट्टै बेनामे उजुरी परेका थिए। पुस २९ गते र माघ ३ गते दुई वटा उजुरी परेका थिए।