काठमाडौं : राष्ट्रिय सभाका अध्यक्षसहित २० सांसदको पदावधि आज सकिदैछ। २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल बिताएका उनीहरू आजदेखि बिदा हुन लागेका हुन्। पदावधि सकिनेहरुमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एमालेका आठ, नेपाली कांग्रेसका चार, नेकपा माओवादी केन्द्रका तीन, नेकपा एकीकृत समाजवादीका दुई, जसपाका एक र स्वतन्त्र सांसद एक एवं राष्ट्रपतिबाट मनोनित एक गरी २० जना रहेका छन्। उनीहरूको ठाउँमा माघ ११ मा भएको राष्ट्रिय सभा निर्वाचनबाट १९ सदस्य निर्वाचित भइसकेका छन्। भोलि उनीहरूको शपथ कार्यक्रम राखिएको छ भने एकजना सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छ। गत माघ ११ गते भएको निर्वाचनबाट राष्ट्रिय सभाको समीकरण नै बदलिएको छ। माओवादी पहिलो ठूलो दल बन्दा कांग्रेस दोस्रो ठूलो दलको हैसियतमा रहनेछ। यस्तै एमाले तेस्रोमा खुम्चिएको छ। नेकपा एकीकृत समाजवादी राष्ट्रिय सभामा चौथो ठूलो दल बनेको छ।















