काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि निर्वाचन आयोगले इलाम क्षेत्र नं. २ मा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आयोगको सूचना अनुसार आगामी २०८१ सालको वैशाख १५ गते शनिबार उपनिर्वाचन हुनेछ । क्षेत्रबाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य एमालेका उपाध्यक्ष रहेका नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो । नेम्वाङको मृत्यु भएपछि यस क्षेत्रमा उपचुनाव हुन लागेको हो ।
गएको निर्वाचनमा सत्तारूढ गठबन्धनमा रहेका दल र एमाले बीच कडा प्रतिस्पर्धा भएको थियो । गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका डम्बर खड्कालाई एक सय १४ मतले पछि पार्दै एमालेका सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए ।
को–को छन् निर्वाचनको दौड्मा ?
कांग्रेसका तर्फबाट जिल्ला सभापति डम्बर खड्का, महासमिति सदस्य भेषराज आचार्य, केशव थापा र नगेन्द्र कुमाललगायतको नाम चर्चामा छ छ । एमालेबाट स्व. नेम्वाङका छोरा सुहाङ नेम्वाङ,को जिल्ला सचिव उमेश गुरुङ, उपसचिव रवीन्द्र सुवेदी, बुद्धि खनालको नाम पनि चर्चामा रहँदै आएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट भने हर्कबहादुर नेम्वाङ (मिक्सो), जिल्ला इन्चार्ज कुलप्रसाद लिम्बू, पूर्वजिल्ला इञ्चार्ज धिरेन्द्र शर्मा (रमन), जिल्ला सह–इन्चार्ज कान्छा लावती र जिल्ला अध्यक्ष विजय राईले उम्मेदवार हुने रहर गरेका छन् ।
यी लगायत राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा स्वतन्त्रलगायतको उम्मेदवारको चर्चा हुन थालेको छ ।
निर्वाचन आयोगले इलाम–२ को प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनको मिति तोकेसँगै केन्द्रदेखी जिल्लासम्म चुनावी सरगर्मी बढेको छ । विभिन्न दलका नेताहरु आफुले जित्ने आसयव्यक्त गर्दै टिकटकालागि माथिल्लो तहका नजिक रहेका नेता भेट्न लागिपरिहेको देखिन्छ ।