काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठकमा बन्दसत्र सुरु भएको छ। ललितपुरको गोदावरीमा जारी बैठकमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस हुँदैछन्। पार्टी प्रचार विभाग प्रमुख मीन बहादुर विश्वकर्माका अनुसार सुरुमा उपप्रधान तथा रक्षामन्त्री समेत रहेका पार्टी उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव प्रस्तुत गरे। त्यसपछि महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव पेस हुनेछन्। यस्तै पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस हुने विश्वकर्माले जानकारी दिए। अरु प्रस्तावमा खासै समस्या नरहे पनि गगन थापाको सांगठनिक प्रस्तावमा सभापति शेरबहादुर देवाले असहमति जनाएका थिए। तर तीन दिन चलेको लगातार छलफलपछि महामन्त्री थापा लचिलो बन्दा प्रतिवेदनमा सामान्य सम्पादन गरिएको छ। थापा पक्षीय केन्द्रीय सदस्य अजयवाबु शिवाकोटीले संशोधन भएपनि निर्वाचनपूर्ण गठबन्धन नगर्ने मर्म प्रतिवेदनमा कायम रहेको बताए। बन्द सत्रमा बैठकमा पेस भएका प्रस्तावबारे समूहगत छलफल गरी पास हुनेछन्। महासमिति बैठकमा देशैभरका महासमिति सदस्य र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधिसहित दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता छ। बैठक फागुन १० गतेसम्म चल्नेछ।