बौद्धिक चोरीको आरोप लागेकामाथि छानबिन हुन्छ : शिक्षा मन्त्रालय

34

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति छनोटको लागि सर्टलिष्टमा परेका बौद्धिक चोरीको आरोप लागेका व्यक्तिका बारेमा आवश्यक छानबिन गर्ने जनाएको छ। सोमबार उपकुलपतिका लागि सर्टलिष्टमा परेका व्यक्तिबारे शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा भएको छलफलमा सांसदहरुले छानबिन गर्नुपर्ने माग उठाएपछि मन्त्रालयले उक्त प्रतिबद्धता जनाएको हो। बैठकमा बौद्धिक चोरी, भ्रष्टाचार मुद्दा लागेका र सूचना लुकाएको अभियोगमा जरिमाना पाएका पनि सर्टलिष्टमा परेकाले नियुक्तिको प्रक्रिया तत्काल रोक्नुपर्ने माग उठाएका थिए। त्यसपछि बैठकमा शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालय ऐनबमोजिम उपकुलपति छनोटका लागि सिफारिस समिति बनेको भन्दै उक्त समितिले आवश्यक प्रक्रिया र ऐन कानुनबमोजिम योग्य र सक्षम व्यक्ति सिफारिस गर्ने बताइन्। शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले सर्टलिष्टमा परेका बौद्धिक चोरीको आरोप लागेका व्यक्तिका बारेमा सिफारिस समितिले आवश्यक छानबिन गर्ने बताए तर उपकुलपति छनोटको प्रक्रिया रद्द गर्न नमिल्ने बताए।