काठमाडौं : स्वतन्त्र र नयाँ दलहरूको उदयले आफ्नो अस्तित्व नै संकटमा परेको आँकलन गरेका पुराना दलहरू विभिन्न अभियानमार्फत जनतामाझ पुग्ने होडबाजीमा छन्। पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेस ‘समुदायमा कांग्रेस’ नामको अभियान लिएर शनिबारदेखि ‘ग्रास लेभल’मा प्रवेश गरेको छ। शहीद दिवस (१६ माघ)को अवसर पारेर कांग्रेसले देशभरका ६ हजार ७४३ वटै वडामा यो अभियानको औपचारिक आरम्भ गर्नेछ। यसका लागि केन्द्रीय स्तरका नेताहरू शनिबारदेखि नै गाउँ-गाउँ पुग्ने क्रममा छन्। सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसले तीनै तहका सरकारसँगका जनताका अपेक्षा, सुझाव, गुनासो सुन्ने उद्देश्यले अभियान चलाउन लागेको हो। जनताबाट प्राप्त सुझावलाई तत्तत् तहका सरकारमा पुर्याउने, कार्यान्वयनका लागि अग्रसरता लिने, पार्टी प्रतिपक्षमा रहेका ठाउँमा पार्टीका तर्फबाट समाधानका लागि पहलकदमी लिनेलगायतका उद्देश्य ‘समुदायमा कांग्रेस’को छ। सत्तासीन कांग्रेसको यो अभियान नौलो होइन। यही प्रकृतिको कार्यक्रम अन्य दलहरूले यसअघि नै सम्पन्न गरिसकेका छन्। आमनिर्वाचनको तीन महिना नबित्दै ‘मिसन ग्रासरुट’ अभियानमार्फत नेकपा एमाले जनतासमक्ष पुग्यो। आमनिर्वाचनपछि दोस्रो शक्ति बनेको एमालेले २०७९ फागुन पहिलो हप्तादेखि दुई महिनासम्म अभियान सञ्चालन गरेको थियो। फागुन ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गरेका ‘मिसन ग्रासरुट’ अभियानमा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू नै खटिएका थिए। एमालेले ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ नामक अर्को अभियान गत पुस १ गते सम्पन्न गर्यो। पश्चिमको सिमाना महाकाली नदी किनारको झुलाघाटबाट शुरु भई पूर्वको पाँचथरको चिवाभञ्ज्याङ पुगेको दुई हप्ते यात्रामा अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष तहकै नेता सहभागी थिए। यो यात्रालाई एमालेले नागरिक र पार्टीबीच सम्बन्ध सेतुको रूपमा अर्थ्याएको थियो। त्यस क्रममा प्राप्त सुझाव एमालेले सरकारलाई बुझाइसकेको छ।
तेस्रो शक्तिमा खुम्चिएको माओवादी केन्द्रले पनि चार महिना लामो ‘रूपान्तरण अभियान’ चलाइसकेको छ। तीन महिनाका लागि भनेर १६ भदौदेखि शुरु गरिएको यो अभियान माओवादीले एक महिना समय थपेर चार महिना पुर्याएको थियो। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी मुख्यालय पेरिसडाँडामा अभियानको उद्घाटन गरेपछि पार्टीका नेता-कार्यकर्ता देशभर होमिएका थिए। एमालेको ‘मिसन ग्रासरुट’ र माओवादी ‘रूपान्तरण अभियान’ कार्यक्रम र उद्देश्यको दृष्टिकोणले खासै भिन्न थिएनन्। यी दुवै दलले पार्टी सुदृढीकरण तथा संगठन विस्तार गर्ने उद्देश्यका साथ फरक-फरक नाम दिएर उस्तै किसिमका अभियान सञ्चालन गरे भने कांग्रेस पनि उही प्रकृतिको अभियान लिएर समुदायमा जान लागेको हो। संसद्का प्रमुख दलहरू पालैपालो जनतामाझ पुगेपछि गत आमनिर्वाचनमा राष्ट्रिय मान्यतासमेत नपाएको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पनि चुप लागेर बसेन। सबै तहमा संगठन विस्तारसमेत नगरिसकेको अवस्था जनतासम्म पुग्न एकीकृत समाजवादीले पनि चार महिनाअघि ‘समाजवाद जागरण यात्रा’ गर्यो।
एकीकृत समाजवादीले १४ असोजदेखि झापाको काँकडभिटास्थित मेची नदीबाट यात्रा शुरु गरेको थियो। असोज २९ मा पश्चिम महाकाली पुगेर सकिएको समाजवाद जागरण यात्राको उद्देश्य पार्टीले अवलम्बन गरेका वैचारिक दृष्टिकोण प्रचारप्रसार गर्ने थियो।
त्यसो त वर्तमान मुलुक सुहाउँदो, नयाँ र अन्य दलभन्दा नितान्त फरक दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि विभिन्न नामका अभियान सञ्चालन गर्दै आएको छ। रास्वपाले पुरानै दलहरूको सिको गर्दै पुस १२ गतेसम्म तीनदिने ‘नारायणगढ–बुटवल पदयात्रा’ गर्यो, जसमा सभापति रवि लामिछाने स्वयं सहभागी थिए। रास्वपा फेरि यस्तै किसिमको अर्को अभियान ‘दबाब यात्रा’ सञ्चालन गर्ने तयारीमा छ। आमनिर्वाचनको १४ महिना नबित्दै सबै दलहरू होडबाजीले जनतासमक्ष विभिन्न अभियानमार्फत पुगिसकेका छन् भने केही दल पुग्ने क्रममा छन्। यसरी राजनीतिक दलहरू जनतामाझ पुग्नुलाई सकारात्मक रूपमै लिनुपर्ने भए पनि त्यहाँ गएर के गर्ने भन्ने विषयले अर्थ राख्ने लेखक तथा विश्लेषक डम्बर खतिवडा बताउँछन्।