मधेश प्रदेशमा आज छैटौँ बलिदानी दिवस मनाइँदै

28

जनकपुरधाम : मधेश प्रदेशमा आज छैटौँ बलिदानी दिवस मनाइँदैछ। अन्तरिम संविधानमा संघीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग राख्दै भएको प्रथम मधेश आन्दोलनको सम्झनामा प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ। मधेश आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते यही दिन सिरहाको लहानमा स्थानीय रमेश महतोले शहादत दिएको सम्झनामा मधेशकेन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका रूपमा मनाउँछन्।

विसं २०६२/०६३ सालको जनआन्दोलनको सफलतापछि माघ १ गते जारी गरिएको अन्तरिम संविधानमा संघीयता र समावेशिता समावेश नगरेको जनाउँदै तत्कालीन मधेशी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन गरिएको थियो। माघ २ गते शुरु भएको आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेशको निधन भएको थियो । यसपछि मधेशभर आन्दोलन भएको थियो। पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग अन्तरिम संविधान संशोधन गरेर माग सम्बोधन गर्ने सम्झौतापछि पहिलो चरणको २१ दिने आन्दोलन स्थगित भएको थियो। यही आन्दोलनलाई मधेशवादीले मधेश जनविद्रोहको सङ्ज्ञा दिने गरेका छन्। त्यही जगमा देशमा संघीयता र संविधान आएको जनाउँदै मधेश प्रदेश सरकार गठन भएदेखि शहीदको सम्झनामा हरेक वर्ष माघ ५ मा बलिदानी दिवस मनाउने गरिएको हो।