मानव सेवा आश्रमलाई सरकारले अभिभावकत्व दिने प्रचण्डको प्रतिबद्धता

45

हेटौँडा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव सेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मानव सेवा आश्रमले हेटौँडा–९ लामसुरेधापमा निर्माण गरेको भवन आज उद्घाटन गर्दै उनले आश्रमले गरिरहेको कामले सरकारलाई झकझकाएको बताए। प्रधानमन्त्री दाहालले आश्रमबाट भएका कामलाई बिस्तार गर्न सबै प्रदेशमा भवन निर्माण तथा उद्धारलगायतका कामका लागि प्रक्रिया अगाडि बढाएको बताए। उनले मानवसेवा आश्रमलाई सातवटा सवारीसाधन र प्रतिव्यक्ति रु. १० हजार नगद उपलब्ध गराउने जानकारी दिए। आश्रमले मानवता प्रवर्धनको पुण्य अभियानका लागि काम गरिरहेकाले आफू उपस्थित भएको बताए। त्यस अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले आश्रम व्यवस्थापनका लागि बजेट विनियोजन गरेको बताए। प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले राज्यको सहभागितामा आश्रममार्फत सडक मानवमुक्त प्रदेश बनाउने अभियान सुरु गरिएको बताइन्। सरकारले आश्रमलाई ध्यान दिँदा वृद्धवृद्धा नागरिकको हेरचाह गर्न सहज हुने उनको भनाइ थियो। मन्त्री मोक्तानले आश्रममा जन्म लिएका बालबालिकाको नागरिकताको विषय जटिल बनेको जनाउँदै यसको समाधानमा सङ्घ सरकारको सहयोग आवश्यक पर्ने उल्लेख गरिन्। यो विषयमा प्रदेश सरकारले समन्वयको प्रयास गरिरहेको उनको भनाइ थियो।