३४औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै

63

काठमाडौं : ३४औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। संयुक्त राष्ट्रसंघको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई यसका पक्षधर राष्ट्रले अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रूपमा मनाउँदै आएका छन्। ालबालिकाको बचावट, संरक्षण, विकास, सहभागितालगायत विषय कार्यान्वयन गरी बाल अधिकार सुनिश्चिताका लागि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विश्वभर मनाइँदै आएको हो। नेपालमा संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धि, १९८९ का ४२ धारा सबै कार्यान्वयनमा छन्। यसमा बालबालिकाको सर्वोत्तम हित, अधिकार कार्यान्वयन, जीवन, बचाउ र विकास, पहिचानको संरक्षण, बालबालिकाको विचार तथा भावनाको कदर, अभिभावकको दायित्व, सामाजिक सुरक्षा, बालश्रम, बेचबिखन, ओसारपसार र अपहरण, बालमैत्री न्यायलगायत व्यवस्था छन्। नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धि, १९८९ अनुमोदन गरेको ३३ वर्ष पूरा भएको छ। नेपालले २०४७ भदौ २९ गते उक्त महासन्धिलाई विनाशर्त अनुमोदन गरी यसको सिद्धान्तअनुसार प्रतिबद्धता जनाएको थियो । राष्ट्रसंघको बाल अधिकार महासन्धिलाई अनुमोदन गरेपछि नेपालले बालबालिकाको हक, हित र अधिकारको विषयलाई संविधान, कानुन, नीति, आवधिक योजना, संस्थागत संरचना, वार्षिक नीति तथा कार्यक्रममा क्रमशः सुधार गर्दै आएको छ। नेपालले उक्त महासन्धिलाई सन् १९९० को सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन घोषणा गरेको थियो । सोहीअनुरूप नेपालले राष्ट्रिय बाल दिवस भने भदौ २९ गते मनाउने गरेको छ।