भूकम्प पीडितलाई आर्थिक सहयोग गर्दै जनप्रतिनिधि, शिक्षक र कर्मचारीहरू

62

पर्वत : गत शुक्रबार राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले मुख्यतः जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ। भूकम्पको कारण यति बेला देश नै शोकमा परेको छ भने भूकम्प पीडितहरूलाई पुनर्स्थापना तथा औषधोपचारमा कठिनाइ भइरहेका समाचारहरू आइरहेका छन्। संघीय सरकारले आफ्नो भूमिका निर्वाह गरिरहेको बेलामा त्यो भने पर्याप्त छैन। कर्णाली प्रदेश सरकारले पनि उद्धार तथा पुनर्स्थापनाको काम गरिरहेको भए पनि त्यसले पनि सहयोग पुग्न समस्या भइरहेको छ। पीडितहरूले गाँस, बास र कपासको लागि ठूलो संघर्ष गरिरहनुपरेको बताइरहेका बेला देशका अन्य प्रदेश र विभिन्न जिल्लाका स्थानीय तहहरूले पनि सहयोगको घोषणा गरिरहेका छन्।

सोही क्रममा बागमती प्रदेश अन्तर्गत चितवनको भरतपुर महानगरपालिकाले उद्धार तथा राहतको लागि एक करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ। गत आइतबार बसेको महानगरपालिकाको कार्यपालिका बैठकले जनप्रतिनिधि तथा कर्मचारीहरूमार्फत रकम संकलन गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। महानगरपालिकाका अनुसार महानगरका जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृत स्तरका कर्मचारीको पाँच दिनको तलब, सहायक स्तरसम्मका कर्मचारीको तीन दिनको तलब, माध्यमिक तहका शिक्षकहरूको तीन दिनको तलब, आधारभूत तहका शिक्षकहरूको दुई दिनको तलब जम्मा गर्ने यसमा एक करोड रूपैयाँ पुर्‍याउन अपुग भएमा महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट सहयोग गर्ने महानगरपालिकाको तयारी छ।
कास्कीको पोखरा महानगरपालिकाले पनि भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाको लागि ५० लाख रूपैयाँ बराबरको सहायता घोषणा गरेको छ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रभावित क्षेत्रमा मानवीय सहायताका लागि यस्तो घोषणा गरेका हुन्। प्रभावित क्षेत्रमा मानवीय सहायताका लागि सहयोग गर्न प्रमुख आचार्यले आह्वान समेत गरेका छन्। उनका अनुसार सहायता रकम महानगरका नगरप्रमुख, उपप्रमुखलगायत वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको एक महिनाको पारिश्रमिकबाट शोधभर्ना हुने गरी व्यवस्थापन गरिने छ। साथै महानगरका नगर सभा सदस्य तथा कर्मचारीहरूले स्वैच्छिक सहयोग उपलब्ध गराउन सक्नेछन् भने, अपुग रकम महानगरपालिकाको विपद् कोषबाट व्यवस्थापन गरिनेछ। पोखरा महानगरपालिकाले पहिलो चरणको सहायता सामाग्री बोकेको ट्रकसहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगर प्रहरीको उद्धार टोली गत शनिबार साँझ नै त्यसतर्फ पठाइसकेको छ। पोखरा महानगरपालिका–१ का वडाध्यक्ष सहारा प्रधान र वडा नं.७ का वडा अध्यक्ष राम मोहन आचार्य नेतृत्वको टोलीमा महानगरको जनस्वास्थ्य अधिकृतसहित उद्धार र पुनर्स्थापनाको लागि पोखरा महानगरपालिकाका नगर प्रहरीलाई प्रभावित क्षेत्रमा पठाइएको छ।