सांसदसँग जनता आक्रोशित

18

विराटनगर : जसपाका संसदीय दलकी निर्मला लिम्बूले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएकी छिन्। उनले कोशी प्रदेशसभा बैठकमा बोल्दै उनले गठबन्धनका तर्फबाट आफ्नो दलले मुख्यमन्त्री कार्कीलाई विश्वसको मत दिने निर्णय गरेको बताएकी हुन्। राजनीतिक गन्धले जनप्रतिनिधि घृणित भएको अवस्था रहेको बताउँदै उनले भनिन्, ‘जनता हामी सांसदसँग आक्रोशित छन्। उनीहरू हामीलाई घृणित व्यवहार गर्छन्। यो हामीले नै बनाएका हौँ।‘उनले कोशी नाम खारेज गरेर सभ्यता र इतिहासलाई नामेट नगरी नामकरण सच्याएर जानुपर्नेमा पनि उनले जोड दिइन्। उनले प्रदेश नामकरणको विषयमा कुरा राख्दै आए पनि यसको सुनुवाइ नभएको गुनासो गरिन्। ‘नामको विषयमा कुनै वार्ता कमिटी नै बनाउन सकेको छैन, म एकजनाले प्रस्ताव राख्दा म अल्पमतले कुरा राख्दा नामको विषयमा वार्ता कमिटी बन्नुपर्छ भन्ने कुरा राख्दाराख्दै प्रदेशले धेरै क्षति बेहोरेको छ’, उनले भनिन्, ‘संघीयताको मर्मविपरीत प्रदेशको नाम राख्दा एकजना सहिद भएका छन्, धेरै घाइते भएका छन्।’ प्रदेशले जनभावना विपरीत गर्दै आएको आरोप लगाउँदै उनले आदिवासीको सभ्यताको नामेट गरेको बताइन्।