विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सुशासन कायम गर्दै समृद्धि हासिल गर्नुपर्ने पनि बताएका छन्। प्रदेशसभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बाताएका हुन्। उनले सांसदहरूले आफूलाई विश्वासको मत दिएर मध्यावधि निर्वाचनमा जान नदिने पनि बताए। ‘मध्यावधि निर्वाचनमा जान दिनु हुनेछैन भन्ने माननीयज्यूहरुप्रति विश्वास व्यक्त गर्दछु। प्रदेश प्रदेश नै हो। प्रदेशको स्वनिर्णय हुन्छ। यसमा हामी सक्षम छौं। हामीलाई जनताले निर्णय गर्न पठाएका हुन् भन्ने भावनाका साथ आउनु भएको हो’, उनले भने, ‘मलाई विश्वासको मत दिइसकेपछि मलाई डोर्याउनु पनि हुनेछ। मुख्यमन्त्रीप्रति गर्ने आलोचनालाई सरकारले कुनै रिसराग गर्नेछैन। संसद्मा माननीयज्यूहरूले आफ्ना कुरा राख्नुहुनेछ। माननीयहरूले सरकारको निगरानी जति धेरै गर्नुहुन्छ सरकार सचेतपूर्वक अगाडि बढ्न सहयोग पुग्नेछ।’उनले संविधानले दिएको अधिकार प्रयोग गर्न सचेततापूर्वक अगाडि बढ्ने पनि बताए। गत शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले प्रदेशमा धार्मिक, सामाजिक सद्भाव कायम राख्न सबै एकताबद्ध हुन आवश्यक रहेकोमा जोड दिए।
‘जनताको रगतले लेखिएको संविधानको धारा १६८ को (५) अनुसार मलाई विश्वासको मत दिँदै हुनुहुन्छ। यसका लागि माननीयज्यूहरूप्रति नमन गर्न चाहन्छु। नेपालको संविधानको भावना अनुसार, जनताआन्दोलनको भावनाअनुसार, सशस्त्र युद्ध, मधेश आन्दोलनको भावना अनुसार जनताको अधिकार स्थापित गर्ने र जनतालाई दरिद्रताबाट मुक्ति दिन शिक्षा, समानता र राज्यको हरेक निकायमा जनताको पहुँच पुर्याउने काम गर्नुपर्नेछ। त्यही सिलसिलामा आफूलाई दिएको विश्वासलाई ध्यानमा राखेर म अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दछु’‚ कार्कीले भने।