काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारदेखि सर्वसाधारणलाई यस वर्षको दसैं, तिहार र छठकालागि नयाँ नोट सटही सुविधा दिन लागेको हो । गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन लागेको हो । गत वर्ष राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थालाई र २९ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गरेको थियो ।
‘विगतका वर्षहरूमा झैं यस वर्ष पनि नयाँ नोट सटहीका लागि काठमाडौं उपत्यकाभित्रको हकमा असोज २९ देखि राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग र वाणिज्य बैंकहरूका तोकिएका शाखा कार्यालयमार्फत समेत नयाँ नोट सटही सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको हुँदा बैंकहरूले तोकेको नजिकको शाखामार्फत नोट सटही गर्नुहुन सबैलाई सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘काठमाडौं उपत्यकाबाहिरका हकमा राष्ट्र बैंकका प्रादेशिक कार्यालय वा वाणिज्य बैंकले तोकेका कार्यालयमध्ये पायक पर्ने स्थानमा गई नोट सटही सुविधा लिन सकिन्छ ।’
१८ हजार ५ सय रुपैयाँ भनेको ५ देखि १ सय रुपैयाँसम्मको एकरएक बन्डल हो । यस वर्ष नयाँ नोट लिन आउने सर्वसाधारणलाई राष्ट्र बैंकले क्यूआर कोडमार्फत भुक्तानी गर्न आग्रह गर्ने जनाएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, काठमाडौं उपत्यकामा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा दिन लागेको हो ।