काठमाडौं : कोशी प्रदेशमा प्रदेश प्रमुखले सरकार बनाउन दिएको समय आज साँझ ५ बजे सकिँदै छ।
४ पटकसम्म संविधानको धारा ७६ को उपधारा (२) र (३) अनुसार बनेको सरकारले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख परशुराम खापुङले उपधारा (५) अनुसारको सरकार बनाउन आह्वान गरेका थिए। जसको समय आज सकिन लागेको हो। कोशी प्रदेशमा मुख्यमन्त्रीको लागि दुईजनाले दाबी पेस गरेका छन्। मुख्यमन्त्रीको लागि ४७ सांसदसहित माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो र ४७ सांसदसहित कांग्रेसका सांसद केदार कार्कीले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरिसकेका छन्।
आङ्बोले कांग्रेस, माओवादी, जसपा र नेकपा एकीकृत समाजवादीको ४७ सांसद र कार्कीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका ३९ र कोइरालापक्षका ८ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। बिहीबार सत्तारूढ गठबन्धन दलका शीर्ष नेताको बैठकले माओवादी नेता इन्द्रबहादुर आङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने निर्णय गरे पनि कांग्रेसका शेखर कोइराला पक्षले कांग्रेस पार्टीभित्र विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्रीमा दावी गरेको छ। कोइराला पक्षका सांसद कार्कीले आफू मुख्यमन्त्री बन्नुपर्ने अडान राख्दै आएका थिए। कार्कीनिकट सांसद शमशेर राईले संविधानको धारा १६८ को ५ मा उल्लेखित संवैधानिक अधिकार आफूहरूले पनि प्रयोग गरेको बताए।
उनले गठबन्धन भनेको ठूलो दलले नेतृत्व गर्ने भन्दै कोशीमा २९ सिट भएको कांग्रेसले १३ सिट भएको माओवादीलाई नेतृत्व दिन नसक्ने भएकोले एमालेको समर्थनमा कांग्रेसले नै सरकारमा दाबी गरेको बताए।
केन्द्रमा पनि ३२ सिट भएको माओवादीले सरकारको नेतृत्व गर्ने। प्रदेशमा पनि १३ सिट भएको माओवादीले गर्ने, लोकतन्त्रमा यस्तो हुन्छ? उपधारा ५ अनुसार बहुमत पुर्याउन सक्ने सदस्यले दाबी गर्न सक्ने भएकोले केदार कार्कीले बहुमत पुर्याएर दाबी गर्नुभएको छ’ राईले भने। उपधारा ५ बमोजिम सरकार बनाउँदा दलले ह्वीप जारी गर्न नमिल्ने र दलको निर्णयविरुद्व जाँदा कारबाही पनि गर्न नमिल्ने हुँदा शेखरपक्षले पार्टीमा विद्रोह गरेर एमालेको समर्थनमा सरकारमा दाबी गरेको छ।