हाम्रो परम्परागत खान्की हो दाल, भात, तरकारी र अचार । अधिकांश नेपालीको भान्सामा पाक्ने यो परिकार आफैंमा परिपूर्ण छ । अर्थात् शरीरलाई जरुरी सम्पूर्ण पोषक तत्व हाम्रो यही थालीमा पुग्दो छ ।त्यसैले घरको खाना टन्न खाएपछि हामीलाई मनग्य पुग्छ । कार्बोहाइड्रेट, प्रोटिन, बोसो, भिटामिन जस्ता सबै पोषक तत्व हाम्रो परम्परागत खानामा उपलब्ध छ । हाम्रो खानामा अक्सर भात, दाल, सागसब्जी र अचार हुन्छ । त्यसैगरी यसमा मौसमी सलाद, घिउ, दही, मोही पनि समावेश गरिन्छ । यति खानेकुरा भएपछि हाम्रो शरीरलाई पुग्छ । हाम्रो खाना स्वादिष्ट, सन्तुलित र स्वस्थ्यकर छ ।
खानाबाट शरीरले के पाउँछ ?
शरीरलाई कार्बोहाइड्रेट, खनिज, प्रोटिन, भिटामिन, फ्याट, मिनरल्स र सूक्ष्म पोषक तत्त्व लगायतको पोषक तत्त्व जरुरी हुन्छ, जुन खानाको माध्यमबाट शरीरमा आपूर्ति हुन्छ । हामीले दैनिक खाने खानेकुराबाट ती पोषकतत्व पूर्ण हुन्छ । नेपाली खाना एकदमै वैज्ञानिक छ । हामीले खाने खानामा सम्पूर्ण पोषक तत्त्व मिश्रित छन् ।नेपाली थाली : सन्तुलित र सम्पूर्ण नेपाली थाली वा दाल, भात, तरकारी, अचार, सलादमा पूर्ण पोषक तत्त्व हुन्छ । भातमा कार्बोहाइड्रेट, दालमा प्रोटिन, तरकारीमा खनिज र सलादमा मिनरल्स लगायत सूक्ष्म पोषक तत्त्वहरू पाइन्छ । त्यसैले नेपाली खाना एकदमै सन्तुलित र पोषक तत्त्वहरूले भरिपूर्ण हुन्छ । हामी नेपालीहरू ताजा र तातो खाना खान्छौं, जसले गर्दा खानामा भएका एन्टिअक्सिडेन्ट जीवित नै रहन्छ । प्रकृतिमा पाइने सम्पूर्ण अन्नबाली, विभिन्न जातका तरकारीमा शरीरलाई चाहिने सम्पूर्ण पोषक तत्त्वहरू खानामा पाइन्छ ।