काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डाक्टर शशांक कोइरालाले इजरायलमा रहेका नेपालीबारे चासो व्यक्त गरेका छन्। इजरायलमा हमासको आक्रमणका कारण १० नेपालीको मृत्यु भइसकेको छ भने त्यहाँ रहेका नेपालीहरू असुरक्षित रहेको खबर आइरहेका बेला डाक्टर कोइरालाले इजरालयलमा रहेका नेपालीबारे चासो व्यक्त गरेका हुन्। आज इजरायलस्थित नेपाली दूतावासका प्रथम सचिव अर्जुन कार्कीसँग सम्पर्क गरि कोइरालाले त्यहाँ रहेका नेपालीहरूको जीवन रक्षाका लागि तत्परता देखाउन आग्रह गरेका हुन्। सो क्रममा कार्कीले इजरालयमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी गराएका थिए। कोइरालाले इजरायलमा समस्यामा रहेका नेपालीको तत्काल उद्धारका लागि काम अघि बढाउन भन्दै नेपालबाट गर्नुपर्ने कामका लागि सरकारलाई ध्यानाकर्षण गराउने बताए। कोइरालाले इजरायलमा निधन भएका विद्यार्थीहरूप्रति समवेदना व्यक्त गर्दै हमलाको निन्दा पनि गरेका छन्। नेपाल र इजरायलबीच स्थापनाकालदेखि नै सुमधुर सम्बन्ध छ। इजरायललाई भारतले मान्यता नदिँदा वीपी कोइराला नेतृत्वको सरकारले स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो।