काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले तीन महिनाभित्र काठमाडौं महानगरपालिकाका मुख्य सडकमा सिसि टिभी र सडक बत्ती जडान गरिसक्ने बताएकी छिन्। शुक्रबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० समापन समारोहमा बोल्दै उनले सिसि टिभीका लागि नेपाल प्रहरीसँग र सडक बत्तीका लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भइ काम अघि बढेको बताइन् । उनले धुलोरहित सडक बनाउनका लागि महानगरपालिकाले एक अर्बको टेण्डर अघि बढाइसकेको पनि बताइन् । उपप्रमुख डंगोलले सो टेण्डर योजनामा सडकका खाल्डाखुल्डी पुर्नेदेखि फुटपाथलाई व्यवस्थित बनाउनेसम्मको काम हुने उल्लेख गरिन् । विद्युत प्राधिकरणले सडक पेटीमा विद्युत बक्स राखिदिँदा पैदल यात्रीलाई असहज भएको भन्दै त्यसबारेमा सोच्न आग्रह गरिन् । उपप्रमुख डंगोलले सवारी साधनको रुटमा विशेष पुनःविचार गर्नुपर्ने आवश्यकता रहेको बताइन् । उनले सडकका पूर्वाधार पनि व्यवस्थित बनाउनुपर्ने आवश्यकता देखिएको बताइन्।