मध्यपुर थिमि नगरपालिकाको वार्षिक प्रगती समिक्षा सम्पन्न

37

भक्तपुर । मध्यपुर थिमि नगरपालिकामा वार्षिक प्रगती समिक्षा सम्पन्न गरेको छ । विहिबार नगरपालिका अन्तरगत रहेका सबै शाखाको प्रगति प्रतिवेदन सार्वजनिक गरेको समिक्षा गरिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम, बजेट, कार्य योजना र सेवा प्रवाहको बारेमा वार्षिक प्रगतीको समिक्षा गरेको छ । नगरपालिकाले सोही अवसरमा नगरसभाबाट पारित आर्थिक वर्ष २०८०/०८१ को विनियोजन ऐन २०८०, नीति तथा कार्यक्रम, बजेट र योजनासहितको पुस्तिका समेत सार्वजनिक गरेको छ ।

सो अवसरमा नगरप्रमुख श्रेष्ठले वार्षिक समिक्षाले नगरपालिकाको सेवा प्रवाह कुन स्तरमा छ भन्ने मापन हुने र आगामी वर्षको नीति निर्माण र योजना कार्यान्वयनका लागि पृष्ठपोषण प्राप्त हुने भएकाले यसको महत्व रहेको बताउनुभयो । उहाँले वार्षिकरुपमा प्रगतीको तुलनात्मक नतिजाको लागि पनि समिक्षा गर्नु आवश्यक भएको चर्चा गर्दै यसले कर्मचारीको वृत्ति विकासमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उपप्रमुख विजयकृष्ण श्रेष्ठले समिक्षामा प्रस्तुत भएको प्रगती प्रतिवेदनले वडा कार्यालय र विषयगत शाखाहरुले एक वर्षमा के कति कार्य गरे, ती कार्य गर्दा के कस्ता समस्या र कठिनाई आइपरे भन्ने बारे जानकारी हुने र यसले आगामी दिनमा कार्य योजनालाई थप परिष्कृत गर्दै लैजान सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विजयराज सुवेदीले समिक्षा कार्यक्रममा प्रस्तुत गरिएको प्रगती प्रतिवेदनको विस्तृत अध्ययन गरी प्राप्त नतिजालाई सार्वजनिक सुनुवाई मार्फत आम नगरवासी समक्ष पुर्याउने र नगरपालिकाको सेवा प्रवाहका बारेमा न.गरवासीको धारणा संकलन गरी सुधार ल्याउने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाको १ देखी ९ नं वडा कार्यालय, २ वटा महाशाखा र १५ वटा विभिन्न विषयगत शाखाहरुले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगती प्रस्तुत गरेको थियो ।