किन बढ्दैछ कांग्रेसका ‘थर्ड पोल’ सिटौलाको सक्रियता?

16

काठमाडौं : कुनै वेला नेपाली ​कांग्रेसमा अत्यन्त प्रभावशाली नेता थिए, कृष्णप्रसाद सिटौला। सक्रिय राजनीतिक जीवनमा सिटौलाले जे जस्ता अवसर पाए, त्यो उनी आफ्नै लागि पनि अकल्पनीयजस्तै थियो। कांग्रेसको मुख्य नेतृत्वमा नपुगे पनि उनी पार्टीमा सधैँ शक्तिशाली नै रहे। तर, कुनै वेला पार्टीमा ‘थर्ड पोल’का रूपमा चिनिएका सिटौला अहिले पार्टीमा कमजोर बनेका छन्। आफूले अघि बढाएका युवा नेताले एकपछि अर्को गर्दै गुट फेरेपछि यति वेला उनी कमजोर देखिएका हुन्।
उमेरले ७० वर्ष कटिसकेका सिटौला शरीरसँगै राजनीतिकरूपमा पनि कमजोर बन्दै गइरहेका छन्। समूहबाट बनाएका नेताहरूबाट धोका अनि पार्टी भूमिका देउवाले खुम्च्याउँदै लैजाँदा सिटौला निराश पनि बनेका छन्।

कांग्रेसमा सिटौलाको उदय

कांग्रेसको अहिलेको नेतृत्वमा रहेका शेरबहादुर देउवादेखि अधिकांश नेपाल विद्यार्थी संघको राजनीतिबाटै आएका हुन्। तर सिटौला जिल्ला सभापति हुँदै केन्द्रीय राजनीतिमा आएका हुन्। ०३३ सालदेखि नै कांग्रेसमा सक्रिय राजनीतिमा होमिएका उनी ०४६ सालको जनआन्दोलनपछि संसदीय राजनीतिमा प्रवेश गरे। ४८ को चुनावमा झापाको क्षेत्र नम्बर १ मा एमालेका द्रोणप्रसाद आचार्यसँग पराजित भए। आचार्यको असामयिक निधन भएपछि झापा ०५० सालमा मध्यावधि चुनाव भयो, निर्वाचित हुँदै उनले संसद् छिर्ने मौका पाए। ०५७ साल माघमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा हेरफेर हुँदा उनी उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बने।

शाही शासनकालमा कांग्रेसका तत्कालीन सहमहामन्त्री गोविन्दराज जोशीविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएपछि उनी पार्टीमा कमजोर हुँदै गए। जोशी गिरिजाप्रसाद निकट थिए। जोशी कमजोर भएपछि कोइरालाले उनी निकट मानिएका कृष्ण सिटौलालाई रोजे। गिरिजाप्रसादको विश्वास जित्न सक्नु नै सिटौलाको ‘टर्निङ प्वाइन्ट’ बन्यो।