सरकारले युवा नीति परिमार्जन गर्दै छ : मन्त्री लिम्बू

24

काठमाडौं : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकारले युवा नीति परिमार्जनका लागि काम अगाडि बढाइरहेको बताएका छन्। शुक्रबार काठमाडौंमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा माइतीघरबाट सुरु भएको युवा पदयात्रामा सहभागी हुँदै उनले यस्तो बताएका हुन्। उनले राष्ट्रिय युवा परिषद्को माध्यमबाट सरकारले युवा नीति परिमार्जन गर्न लागेको बताए। उनले युवाहरुलाई कसरी बढीभन्दा बढी स्थान र भूमिका दिने भन्नेबारेमा नीति तयार भइरहेको र नीतिमा आवश्यक पर्ने सुझावहरु दिनका लागि युवाहरुलाई आह्वान गरे।

उनले युवाहरुलाई देशको नेतृत्व गर्नका लागि तयार हुन पनि आह्वान गरे। मन्त्री लिम्बूले आफूलाई समयानकूल परिवर्तन गरी सबैलाई एकत्रित बनाई देश विकास र देश निर्माणको संकल्प गर्न आग्रह गरे।
उनले देशमा परिवर्तन, विकास, रोजगारी सिर्जना समयमा नै हुन नसकेको स्वीकार गरे। उनले भने, ‘राष्ट्रिय युवा परिषद्को माध्यमबाट युवा नीति परिमार्जन गर्नेकुरामा अघि बढेका छौँ। युवाहरुलाई कसरी स्थान दिने भन्नेमा मन्त्रालय अघि बढेको छ। युवाहरुले आगामी दिनमा अब यो देश हाँक्ने, यो देशको नेतृत्व गर्ने कुरा अब युवाहरुको काँधमा छ। त्यसैले समयानुकुल आफूलाई परिवर्तन गर्दे देश हाँक्न अब तयार हुनुस्। हामी सबै मिलेर देशको विकास गर्न सक्छौँ। यो मुलुकमा धेरै राजनीतिक परिवर्तन भइसके तर जनताको आधारभूत आवश्यकता परिवर्तन हुन सकेन भन्ने जुन गुनासो छ, त्यसलाई सरकारले सम्बोधन गर्ने प्रयास गरिरहेको छ।’मन्त्री लिम्बूले देश विकासका लागि साझा धारणा बनाएर अघि बढ्न आवश्यक रहेको भन्दै दिगो विकास लक्ष्य प्राप्तिका निमित्त जस्तोसुकै कठिन परिस्थितमा पनि मिलेर अघि बढ्न जरुरी देखिएको बताए। यस वर्ष ‘कौशल युवा, दिगो विकासका लागि’भन्ने नारासहित अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ।