काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले परीक्षा सञ्चालनमा अर्को चरम लापरबाही गरेको पाइएको छ। सोमबार स्नातक तह चार वर्षे ‘’इन्ट्रोडक्सन टु टुरिजम’ डेभलपमेन्ट’ विषयको परीक्षामा भारतीय पाठ्यक्रमको प्रश्न सोधेपछि यतिखेर यसको चर्को आलोचना भइरहेको छ। बीए तेस्रो वर्षअन्तर्गत हिजो ‘’इन्ट्रोडक्सन टु टुरिजम’ डेभलपमेन्ट’ विषयको परीक्षामा त्रिविले अर्कै विषयको प्रश्नपत्र बाँडेपछि विद्यार्थीहरू अलमलमा परेका थिए। त्यसपछि विद्यार्थीहरूले आवाज उठाए। करिब एक घण्टा लगाएर सम्बन्धित विषयको प्रश्नपत्र दिइएको थियो।त्रिविले परीक्षा सञ्चालनमा चरम लापरबाही गरेको भन्दै विद्यार्थीहरूले आपत्ति जनाएका छन्। एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले घटनामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले भनेका छन्, ‘त्रिविद्वारा संचालित बि.ए तेश्रो वर्षको परीक्षामा त्रि.वि.ले ‘इन्ट्रोडक्सन टु टुरिजम’ डेभलपमेन्ट विषयको प्रश्नपत्रमा पाठ्यक्रम बाहिरको प्रश्नपत्र वितरणको घटनाले त्रिविको परीक्षा प्रणालीको लापरबाही उदाङ्गो भएको छ।’उनले परीक्षार्थीलाई परीक्षाको करिब १ घण्टा पछि अर्को प्रश्नपत्र वितरण भएको घटनाले त्रिविको परीक्षा प्रणाली र विश्वसनियतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा भएको बताए। उनले त्रिवि सेवा आयोगको नेतृत्व चयन खुला प्रतिस्पर्धाबाट नगर्दा यस्ता घटना दोहोरिदैँ आएको बताए।‘त्रि.वि. नेतृत्व चयन खुला प्रतिस्पर्धाबाट बोर्ड अफ ट्रष्टको गठन मार्फत गर्न अनेरास्ववियु जोडदार माग गर्दछ, अन्त्यमा यस घटनामा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउन प्रशासनसँग जोडदार माग गर्दछौ,’उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।