हङकङबाट ल्याइएको सुन विमानस्थल भन्सार पार गरेर ट्याक्सीमा राखेर निकालिएपछि राजस्व अनुसन्धानको टोलीबाट सिनामंगलमा बरामद, सम्भवतः सबैभन्दा ठूलो परिमाणको सुन समातिएको अधिकारीहरूको दाबी
सुनको बिस्कुटलाई स्कुटरको ‘ब्रेक सु’ भित्र कभर गरेर ल्याइएको थियो
काठमाडौं । हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेर सिनामंगल सडकसम्म पुर्याइएको करिब एक क्विन्टल सुन बरामद भएको छ । राजस्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेको हो भने भन्सारका अधिकारीहरूमाथि प्रश्न उठेको छ ।
मंगलबार राति १० बजे हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक सु’ को आवरणमा सुन ल्याइएको थियो । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना रहेको अधिकारीहरूको भनाइ छ । यसअघि ०७४ भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ केजी सुनसहित काठमाडौंको क्षेत्रपाटीबाट गाडी चालक पक्राउ परेका थिए ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन बरामद भएको र केही व्यक्ति पक्राउ परेको पुष्टि गरे । ‘थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘धेरै तथ्य खुल्न बाँकी नै भएकाले विस्तृतमा अहिल्यै भन्न सक्ने अवस्था छैन ।’
भन्सार कार्यालयले निर्वाध रूपमा सुन पास गरिदिएको थियो । ‘आठवटा कार्टुन बक्सामा ल्याइएका स्कुटरका १ सय ६० वटा ब्रेक सुको जाँचपास भन्सार कार्यालयले गरेको थियो । जसको तौल १ सय ५४ केजी उल्लेख छ । यस आधारमा करिब एक क्विन्टल सुन हुनुपर्छ भन्ने अनुमान गरेका हौं,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘सामान जाँच गर्ने स्क्यानरले कसरी पत्ता लगाएन रु सम्भावित सेटिङबारे अनुसन्धान हुँदै छ ।’
बुढानीलकण्ठ ठेगाना उल्लेख गरिएको ‘रेडी ट्रेडर्स प्रालि’का नाममा विमानस्थल भन्सारले जाँचपास हुन लागेको सामान शंकास्पद रहेको सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोली विमानस्थल पुगेको थियो । जाँचपासपछि सुन लिएर ट्याक्सीबाट बाहिरिएका दुई जना सिनामंगलमा समातिएका हुन्, पछि तीन जना पक्राउ परेका छन् । ‘सुनको बिस्कुटको आकार बिगारी स्कुटरको ‘ब्रेक सु’ भित्र कभर गरेर ल्याएको देखिन्छ । भन्सारमा भने स्कुटरको ब्रेक सु भन्ने घोषणा गरिएको छ,’ अनुसन्धानमा संलग्न अधिकारीले भने ।
यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।