नेपालका ग्रामीण क्षेत्रका विद्यालयमा सघाउन २० करोड जम्मा गर्दै एन.आर.एन.ए

21

एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसन (एन.आर.एन.ए) ले नेपालको ग्रामीण क्षेत्रको शिक्षामा सुधार गर्नको लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ।सहरी क्षेत्रमा रहेका सुविधा सम्पन्न विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूले गुणस्तरीय शिक्षा र आधुनिक सुविधाहरूको प्रयोग गर्न पाउने गरेको भए पनि ग्रामीण क्षेत्रमा रहेको विद्यालयहरूले आर्थिक अभावमा समस्या भोग्दै आएकाले ती विद्यालयहरूलाई सघाउन उद्देश्य राखिएको छ।एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसन अध्यक्ष माधव मरासिनीका अनुसार स्थापनाकालदेखि नै सामाजिक सेवामा सक्रिय रहँदै आएको संस्थाले यस अघि पनि विद्यालय, खेलकुद, स्वास्थ्य लगायतका विधामा सघाएको बताउँदै उनले अब ग्रामीण क्षेत्रका विद्यालयहरूमा केही सहयोग गरेर अरूलाई पनि त्यसतर्फ उत्प्रेरित गर्न खोजिएको बताए।

विद्यालयहरूलाई आर्थिक सहयोग गर्न ‘जनसहयोग बाल शिक्षा कोष’ स्थापना गरेर त्यसमा दाताहरूले रकम जम्मा गर्ने गरी काम अघि बढाइएको उनको भनाइ छ।एसोसिएसनको पहलमा नेपालमा रहेको देउराली फाउन्डेसनले ‘ट्रस्ट फन्ड’ स्थापना गरेको हो। ‘फन्ड’ तत्काल नै बीउ पुँजीको रूपमा एक करोड रुपैयाँ जम्मा गर्ने र आगामी पाँच वर्षभित्रमा कोषमा २० करोड रुपैयाँ जम्मा गर्ने उद्देश्य राखिएको छ। शिक्षा वा ग्रामीण क्षेत्रको विकासमा चासो राख्ने आम सहयोगदाताहरूलाई सोही कोषमा सहयोग जम्मा गर्न अनुरोध गरेर एकीकृत रूपमा कोषमा रकम जम्मा गर्ने एसोसिएसनले बताएको छ।

‘नेपालको ग्रामीण क्षेत्रमा रहेका विद्यालय तथा आर्थिक समस्यामा परेका र जेहेन्दार बिद्यार्थीहरुको अध्ययनमा सघाउने गरी अघि बढिएको छ। बजारमा रहेका विद्यालयहरूमा त्यति धेरै समस्या नरहेको भए पनि गाउँमा रहेका विद्यालयहरूको अवस्था त हामीले देखिरहेका छौँ’, अध्यक्ष मरासिनी भन्छन्, ‘गाउँका कति विद्यालयमा स्वस्थ पिउने पानी नभएको अवस्था छ। छाना पनि चुहिएका छन्। जेहेन्दार विद्यार्थीले पनि आर्थिक अभावमा रोजेको विषय अध्ययन गर्न पाएका छैनन्। कति विद्यार्थीले बिचैमा विद्यालय छाड्न बाध्य भएका छन्।’