मुख्यमन्त्री लिन कांग्रेस र माओवादीबीच रस्साकस्सी

38

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले आ-आफ्नो अडान नछाड्दा कोशीको मुख्यमन्त्री टुंगो लगाउने दलहरूको प्रयास सफल भएको छैन। शीर्ष नेताहरूले मुख्यमन्त्री टुंग्याइदिने अपेक्षा गरिरहेका प्रदेशका नेताहरू शीर्ष तहका नेताहरूले निर्णय दिइनसकेको बताइरहेका छन्। मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि कोशीमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासहितको गठबन्धनले नयाँ सरकार बनाउने कसरत गरिरहेका छन्। आइतबार मात्रै प्रदेश प्रमुख पर्शुराम खापुङले असार २१ गते अपरान्ह ५ बजेसम्म समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।नयाँ सरकार गठनका लागि शीर्ष नेताहरूसँग छलफल गर्नका लागि काठमाडौं पुगेका प्रदेशका नेताहरूका अनुसार कांग्रेस र माओवादीले मुख्यमन्त्रीमा अडान लिएका छन्। त्यसक्रममा माओवादीले संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई र कांग्रेसले दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउनुपर्ने अडान राखेका छन्। ‘आज र भोलिमा को मुख्यमन्त्री बन्ने भन्ने कुरा टुंगिन्छ,’ कांग्रेसका एक केन्द्रीय नेताले सेतोपाटीसँग भने, ‘हामीले उद्धवजीलाई बनाएर जाउँ भन्ने प्रस्ताव गरेका छौं।’ती नेताका अनुसार माओवादी र एकीकृत समाजवादीले आङ्बोको पक्षमा अडान लिइरहेका छन्। कांग्रेस उच्च स्रोतका अनुसार दुई दिनयता केन्द्रका दोस्रो तहका नेताहरू र प्रदेशका नेताहरूबीच विभिन्न चरणमा छलफल भइसकेको छ। त्यसक्रममा माओवादीले आफूलाई राप्रपाले समर्थन गर्ने तर कांग्रेसलाई नगर्ने सन्देश पठाएको दाबी गरेको छ।

आज (सोमबार) पनि विभिन्न चरणमा छलफल चलिरहेका छन्। त्यसक्रममा कांग्रेसले केन्द्रीय सरकारमा आफूले दिएको साथलाई आधार बनाएर प्रदेशमा धेरै अडान नलिन माओवादीलाई भनेको छ।‘कृष्णप्रसाद सिटौलाले जसरी पनि उद्धव थापालाई मुख्यमन्त्री बनाउनुपर्छ भन्ने अडान लिएको देखिन्छ’, कांग्रेससँगको छलफलमा सहभागी गठबन्धन प्रदेशका एक नेताले भने, ‘यदि थापालाई अघि सार्दा राप्रपा आएन भने पनि हाम्रो ४७ पुग्छ। त्यसैले पहिलो पटक थापालाई मुख्यमन्त्री बनाएर जाउँ भन्ने उहाँहरूको कुरा छ।’माओवादी नेताहरूले भने नेता सिटौलानिकट थापाका पक्षमा राप्रपा नउभिने खतरा रहेको भन्दै आफूलाई नेतृत्व दिए राप्रपाले सुरूमै समर्थन गर्ने दाबी गरिरहेका छन्। ‘हामी राप्रपासँग नियमित संवादमा छौं,’ माओवादी नेताहरूले कांग्रेससँगको छलफलमा दाबी गरेका छन्, ‘राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र सिटौलाबीचको लामो टकरावले थापालाई समर्थन गर्न नसकिने कुरा राप्रपाले बताइरहेको छ।’