मिटरब्याज प्रकरणमा दलका ठूला नेता संलग्‍न छन् : एमाले

20

काठमाडौँ : नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले मिटरब्याजी प्रकरणमा राजनीतिक दलका ठूला नेता र प्रहरीका उच्च अधिकारीहरूको संलग्नता रहेको बताएका छन्।आइतवारको प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० को सम्बन्धमा छलफलमा भाग लिँदै उनले मिटरब्याजीको संरक्षक राजनीतिक दलका ठूला नेताहरू भएको बताएका हुन्। उनले उक्त प्रकरणमा राष्ट्रसेवक कर्मचारी र प्रहरीका उच्चपदस्थ कर्मचारीहरू संलग्न रहेका पनि बताए।
उनले भने, ‘मिटरब्याजीको प्रकरण धेरै गम्भीर विषय हो। यसमा राष्ट्रसेवक, उच्चपदस्थ कर्मचारी संलग्न छन्। दलका ठूला नेताहरूको संरक्षणमा यी काम भएका छन्। त्यसकारण यसविरुद्ध राम्रो ऐन बन्नुपर्छ। पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्ने वातावरण बन्नुपर्छ भन्ने पक्षमा छौँ।’

उनले सरकारले पीडितलाई झुक्याउन खोजेको आरोप लगाए। मिटरब्याजको विरुद्धमा राम्रो ऐन बन्नुपर्ने र पीडितलाई न्याय दिन सक्नुपर्ने उनले बताए। ‘आज सरकारले मिटरब्याजी पीडितहरूलाई न्याय दिन होइन, झुक्याउन यो विधेयक सदनमा पेस गरेजस्तो गर्दै छ। पीडितहरूप्रति सरकार इमान्दार छैन भन्ने कुरा यसले पुष्टि गर्छ। सांसदको हातमा आजसम्म पनि यो विधेयक छैन। हामीले वैचारिक, सैद्धान्तिक छलफल गर्दै छौँ। चाहिने डकुमेन्ट हामीसँग छैन तर पनि छलफलमा बस्नुपर्ने अवस्था छ।’उनले प्रतिनिधिसभामा आएको केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० मिटरब्याजी पीडितलाई न्याय दिनका लागि नभई झुक्याउनका लागि ल्याएको बताए।