धनकुटा : कोशी प्रदेशका १० जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक भएको छ। २०६८ सालको जनगणनामा जनसंख्याको तुलनामा २०७८ सालको जनगणनामा कोशी प्रदेशका १० वटा जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक भएको पाइएको हो। तथ्यांक कार्यालय धनकुटाले शुक्रबार राष्ट्रिय जनगणना २०७८ को जिल्ला स्तरिय नतिजा सार्वजनिक कार्यक्रमको आयोजना गरेर कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुर बाहेकका जिल्लामा जनसंख्या ऋणात्मक भएको जानकारी दिएको हो। राष्ट्रिय जनगणना २०७८ अनुसार कोशी प्रदेशको जनसंख्या वृद्धिदर सबैभन्दा बढी ऋणात्मक हुने जिल्ला खोटाङ रहेको छ भने सबैभन्दा कम ऋणात्मक हुनेमा संखुवासभा रहेको छ। खोटाङमा १ दशमलव ५६ प्रतिशत ऋणात्मक हुदाँ संखुवासभामा शून्य दशमलव ४ प्रतिशत ऋणात्मक भएको छ। यस्तै भोजपुरमा १ दशमलव ३९ प्रतिशत, पाँचथरमा १ दशमलव ०२ प्रतिशत, धनकुटामा शून्य दशमलव ७८ प्रतिशत, ओखलढुंगामा शून्य दशमलव ५६ प्रतिशत, इलाममा शून्य दशमलव ३६ प्रतिशत, ताप्लेजुङमा शून्य दशमलव ५३ प्रतिशत र सोलुखुम्बुमा शून्य दशमलव ०९ प्रतिशत जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको हो।यता कोशी प्रदेशमा जनसंख्या वृद्धिदर सबैभन्दा बढी धनात्मक हुने जिल्लामा झापा पहिलो, सुनसरी दोस्रो, मोरङ तेस्रो र उदयपुर चौथो नम्बरमा छन्। झापामा एक दशमलव ९७, सुनसरीमा एक दशमलव ८६, मोरङमा एक दशमलव ६६ र उदयपुरमा शून्य दशमलव ६८ प्रतिशत जनसंख्या वृद्धि भएको छ।
सरकारले २०७८ कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म देशभर एकसाथ अभियान सञ्चालन गरेर जनसंख्याको विवरण संकलन गरेको थियो भने गत चैत १० गते एक कार्यक्रम गरेर सार्वजनिक गरेको थियो। कोशी प्रदेशका पहाडि जिल्लामा जनसंख्या ऋणात्मक भएका जिल्लाहरुमा बसाइसराई प्रमुख कारण रहेको तथ्यांक कार्यालय धनकुटाका प्रमुख प्रकाश कुमार अधिकारीले जानकारी दिए।धनकुटाको जनसंख्या वृद्धिदर ऋणात्मक, ९ हजार ५ सय अनुपस्थित केन्द्रीय तथ्यांक कार्यालय सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार धनकुटाको जनसंख्या घटेको पाइएको छ। वि.सं २०६८ को जनगणना अनुसार एक लाख ६३ हजार ४ सय १२ रहेको धनकुटाको जनसंख्या १० वर्षमा एक लाख ५० हजार ५ सय ९९ मा झरेको छ। जिल्लाको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ। जिल्लाको वार्षिक जनसंख्या वृद्धिदर माइनस शून्य दशमलव ७८ प्रतिशत रहेको छ। १० वर्षमा धनकुटाको जनसंख्या १२ हजार ८ सय १३ ले कम देखिएको हो। जिल्लाको कुल जनसंख्यामा महिलाको संख्या २ हजार ९ सय ५१ ले बढी छ। तथ्यांकअनुसार महिलाको संख्या ७६ हजार ७ सय ७५ र पुरुषको संख्या ७३ हजार ८ सय २४ रहेको छ। पालिकागत रूपमा हेर्दा सबैभन्दा बढी जनसंख्या धनकुटा नगरपालिकामा र सबैभन्दा कम जनसंख्या छथर जोरपाटी गाउँपालिकामा रहेको छ। धनकुटा नगरपालिकाको जनसंख्या ३५ हजार ९ सय ८३ छ भने छथर जोरपाटी गाउँपालिकाको १६ हजार ४ सय ५६ रहेको तथ्यांकमा उल्लेख छ। जिल्लाको जनघनत्व १ सय ६९ जना प्रति वर्गकिलोमिटर रहेको छ। सबैभन्दा बढी जनघनत्व धनकुटा नगरपालिकामा ३ सय २४ र कम जनघनत्व सहिदभूमि गाउँपालिकामा १ सय ६० रहेको छ। धनकुटामा जनगणनाको समयमा संस्थागत जनसंख्या १ हजार ८ सय ६९ रहेको तथ्यांकमा उल्लेख गरिएको छ। संस्थागत जनसंख्या भन्नाले सेना, प्रहरी, होस्टेल, आश्रममा बसोबास गर्ने वा अन्य संस्थागत रुपमा बसोबास गरेको जनसंख्यालाई बुझिन्छ।
तथ्यांकअनुसार जिल्लाको साक्षरता दर ८१ दशमलव ३६ रहेको छ। जसमध्ये पुरुषको साक्षरता दर ८८ दशमलव १८ र महिलाको साक्षरता दर ७४ दशमलव ६५ छ। सबैभन्दा बढी साक्षरता दर धनकुटा नगरपालिकामा ८४ दशमलव ३६ प्रतिशत र कम साक्षरता दर सहिदभूमि गाउँपालिकामा ७८ दशमलव ४६ रहेको छ। धनकुटामा जम्मा परिवार संख्या ३७ हजार ६ सय ४८ रहेको छ। तथ्यांकअनुसार जिल्लामा परिवारको औसत आकार ४ जना रहेको छ। लैंगिक अनुपात भने ९६ दशमलव १६ रहेको छ। जनगणनाका समयमा अनुपस्थित रहेका ९ हजार ५ सय ९२ जनामध्ये ७ हजार ७ सय ८९ जना तलब ज्यालामा काम गर्न विदेश गएको तथ्यांक कार्यालयले जनाएको छ। यस्तै धनकुटा जिल्लामा ४९ दशमलव ५६ प्रतिशत हिन्दु, ३४ दशमलव ३४ दशमलव ७४ किँरात, १३ दशमलव ११ प्रतिशत बौद्ध, २ दशमलव ४७ प्रतिशत क्रिश्चियन, शून्य दशमलव १० प्रतिशत इस्लाम र शून्य दशमलव ०१ प्रतिशत प्रकृति धर्मालम्बी रहेको तथ्यांकमा उल्लेख छ।