काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार र युट्युबरहरूलाई पक्राउ गरेको हो। वानएक्स बेटमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जसमा हास्यकलाकार बल्छी ध्रुवे मरिचमान श्रेष्ठ, म्याकुरी पवन खतिवडा, राजुमास्टर उर्फ राजु पौडेल, युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर जलन, गणेश देवकोटा जिडी र सरोज घिमिरे ढेडो बुढो र भटभटे माइला भन्ने बेगम नेपाली छन्। उनीहरूलाई प्रहरीले निगरानी गरिरहेको थियो। युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो। त्यसरी अपरेसन चलाएर बुधबारमात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो। पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो। उनीहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ।