-बीबीसी न्यूज नेपाली
चीन भ्रमणमा रहेका एक उच्च नेपाली अधिकारीले भारत र संयुक्त राज्य अमेरिकाका तर्फबाट ‘आफ्नो मुलुकलाई अप्ठेरो पार्नेगरी नेपालमा गतिविधि हुनसक्ने’ भन्दै सजगता अपनाउन आफ्ना चिनियाँ समकक्षीले अनुरोध गरेको बीबीसीलाई बताएका छन्। नेपालको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बेइजिङमा चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी कमिटीका अध्यक्ष झाओ लेजीसँग दुईपक्षीय भेटवार्ता गरेका थिए।
हाल साङ्घाई पुगेका उनले बेइजिङमा चाइनिज पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फ्रेन्सका अध्यक्ष वाङ हुनिङसँग पनि भेटवार्ता गरेका थिए। नेपालले एक चीन नीति अँगालेको छ र आफ्नो भूमि चीन विरोधी गतिविधिमा प्रयोग हुन नदिने भनेर बारम्बार प्रतिबद्धता जनाउने गरेको छ।
कसरी उठ्यो भारत र अमेरिकाको प्रसङ्ग
साङ्घाईबाट बीबीसीसँग कुरा गर्दै तिमिल्सिनाले नेपालमा कुनै पनि किसिमका चीनविरोधी गतिविधि नहोऊन् भन्नेमा चिनियाँ पक्षले जोड दिएको बताए। उनले भने, “नेपालमा चीनविरोधी गतिविधि हुन नदिने कुरा नेपाल सरकारले बारम्बार दोहोर्याएको छ। यसमा हामी खुशी छौँ र आभार व्यक्त गर्छौँ। तर पनि कहीँ कतै तिब्बती शरणार्थी वा विभिन्न नामबाट घुसपैठ भएर नेपालमा चीनविरोधी गतिविधि गराउन सक्ने तत्त्वहरू क्रियाशील हुनसक्ने हुँदा यसमा सजगता अपनाइयोस् भन्ने उहाँहरूको चाहना थियो।” अध्यक्ष तिमिल्सिनाले आफ्ना चिनियाँ समकक्षी झाओ लेजीसँगको छलफलमा भारत र संयुक्त राज्य अमेरिकाको प्रसङ्ग उठेको बताए।
उनले भने, “उहाँहरूको चासो अमेरिका र भारतले नेपालमा चीनविरोधी गतिविधि गराउन कुनै न कुनै हिसाबले खेल्न सक्छन्, नेपालमा कुनै गतिविधि गरेर त्यसको अप्ठेरो यता चीनलाई पार्न सक्छन् त्यसमा सजगता अपनाइयोस् भन्ने थियो। त्यस्तो हुन नपाओस भन्नुभयो।” चिनियाँ पक्षले अध्यक्ष तिमिल्सिनासँगको भेटवार्तामा आफ्ना सुरक्षा चासोबारे छलफल भएको सङ्केत गरेको छ।सिन्ह्वा समाचार संस्थामा प्रकाशित विवरणमा चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी कमिटीका अध्यक्ष झाओ लेजीले दुई देशबीचको मित्रवत् सम्बन्ध बलियो बनाउनु दुवै देशको स्वार्थमा रहेको बताएको उल्लेख छ।
अध्यक्ष झाओलाई उद्धृत गर्दै उक्त विवरणमा भनिएको छ, “।।।सदैव एक चीन नीतिमा दह्रो गरी उभिएको, चीनका मुख्य स्वार्थहरूमा अमूल्य सहयोग प्रदान गरेको र नेपाली भूमि कुनै पनि चीनविरोधी गतिविधिमा प्रयोग हुन नदिने वचनमा प्रतिबद्ध रहेकोमा चिनियाँ पक्ष नेपालको प्रशंसा गर्छ।” महाशक्ति राष्ट्र अमेरिका र उसको प्रतिद्वन्द्वी चीनबीचको सम्बन्ध हाल वर्षौँयताकै चुनौतीपूर्ण मोडबाट गुज्रिरहेको छ।
एउटा थिङ्क ट्याङ्क द काउन्सिल अफ फरेन रिलेसन्सका अनुसार चीन र अमेरिकाबीच विश्वकै सबैभन्दा महत्त्वपूर्ण र जटिल दुईपक्षीय सम्बन्ध रहेको छ। सन् १९४९ यता दुवै देश व्यापार, जलवायु परिवर्तन र ताइवानसहितका विषयमा सहकार्य र तनावको चरणबाट गुज्रिएका छन्। वर्षौँदेखि सुल्झन बाँकी सीमा विवादका कारण भारत चीन सम्बन्ध पछिल्ला वर्षहरूमा तिक्ततापूर्ण मोडमा छ।