काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सरकार संरक्षित गुण्डाहरूबाट एमाले नेताहरूमाथि आक्रमण भइरहेको आरोप लगाएका छन्। पार्टी कार्यालय च्यासलमा बिहीबार आयोजित केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा बोल्दै ओलीले यसमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको गम्भीर आरोप लगाए।
बिहीबार मात्रै एमाले केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राम रानामाथि मोबिल छर्किएर आगो लगाउने प्रयास गरिएको भन्दै ओलीले आक्रोश व्यक्त गरे। ‘पहिचानका नाममा हत्यासम्मको प्रयास भइरहेको छ, यस कुरामा हाम्रो पार्टी कुनै हालतमा डराउँदैन, झुक्दैन।’ ओलीले भने, नेपाललाई जाति जातिका नाममा दंगाफसाद गराउने। किराँत प्रदेश राख्न खोजिएको किन रहेछ भन्ने बुझिएन र! नराख्दा यस्तो छ, राख्ने हो भने के हुन्छ? गैरकिराँत बस्न पनि नपाउने अवस्था बन्ने रहेछ नि!’
यसमा सरकारको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाउँदै ओलीले नाम राखि सकेपछि माओवादी केन्द्रले गल्ती भयो भनेर पुनर्विचारको कुरा उठाउँदै मान्छे उचाल्ने काम गरेको दाबी गरे। ‘अब नेकपा एमालेले तयारीका साथ दनक दिनुपर्ने अवस्था भयो, सरकारले ज्यानै लिने हर्कत गराइरहेको छ भने एमाले चुप लागेर बस्दैन। हाम्रो कार्यकर्ताको रक्षा हामी आफैंले गर्नुपर्छ भने किन चुप बस्ने। सरकारले न गुण्डा नियन्त्रण गर्छ, न गिरफ्तार गर्छ, ओलीले थपे, उल्टो गुण्डाहरूलाई प्रोत्साहित गरेको छ । संरक्षण गरेको छ।’पहिचानवादको संरक्षक प्रधानमन्त्री प्रचण्ड रहेको भन्दै ओलीले प्रचण्डपथवादीले हिंसा मच्चाइरहेको बताए। ‘प्रचण्डपथ अझै गएको छैन। प्रचण्डपथ भनेको देशद्रोही पथ हो । यो आपराधिक पथ हो। ’ ओलीले आक्रोश पोखे।