यो गर्मीमा छालाको स्याहार कसरी गर्ने ?

65
Young woman

काठमाडौं । गर्मीमा घामले गर्दा छालामा धेरै समस्या देखा पर्छन् । चर्को घामले छाला डढ्ने, मेकअप बग्ने, पसिना बढी आउने, चिलाउनेलगायत अनेकौं समस्या पनि देखा पर्छन्।

गर्मीले सबैभन्दा बढी असर महिलाको मेकअपमा पार्छ । गर्मी मौसममा मेकअप धेरै समयसम्म टिक्न गाह्रो हुन्छ । केही कुरामा ध्यान राख्न सके गर्मीबाट हुने समस्याबाट जोगिन सकिन्छ ।

गर्मी मौसममा छालाको स्याहार गर्न गाह्रो हुन्छ । पसिनाले गर्दा छाला चिपचिप हुने र मेकअप पनि धेरै समयसम्म नटिक्ने हुन्छ । तैलीय छाला भएकाले गर्मीमा झन् समस्या भोग्नुपर्छ । यस्तो समस्याबाट जोगिन सकेसम्म पूरा बाहुला भएको पहिरन लगाउनुपर्छ । यसले शरीरको देखिने भागलाई घामबाट डढ्नबाट जोगाउँछ ।

गर्मीमा सेतो वा हल्का रङका पहिरनको प्रयोग उचित हुन्छ । साथै सकेसम्म कम एसेसरिजको प्रयोग गर्नुपर्छ । सनग्लास गर्मीमा नभई नहुने एसेसरिज हो । दिनमा सनग्लासको प्रयोग गरे पनि साँझसम्म निकाल्नुपर्छ । कपाललाई धेरै कसेर बाँध्नु हुँदैन । कसेर बाँधेको कपालमा चिपचिपको समस्या बढी देखिन्छ । गर्मीमा कपाल भरसक छोटो राखेको नै राम्रो । छोटो कपाललाई स्याहार्न सजिलो हुन्छ । र, तपाईं कूल देखिन सक्नुहुने छ ।

गर्मीमा कपाल झर्ने समस्याले पनि त्यत्तिकै सताउँछ । धेरै कपाल झरेमा नियमित तेल मालिस गर्ने र कपालमा दहीको प्रयोग पनि गर्न सकिन्छ । कपालमा हाँगा फाँट्ने समस्या पनि त्यस्तै देखिन्छ । त्यसका लागि २० दिनको अन्तरालमा कपाललाई एकपटक ट्रिमिङ गर्ने । कपाललाई स्याम्पूले धोएपछि कागतीको रस वा गुलाबजल मिलाएको पानीले धुने । यसो गर्दा कपालमा पसिनाको गन्ध आउँदैन । यदि टाउको चिलाउने भयो भने छालारोग विशेषज्ञसँग सम्पर्क राख्नुपर्छ । गर्मीमा नियमित कपालमा स्याम्पु गर्नुपर्छ ।

गर्मीमा धेरैभन्दा धेरै पानी पिउनुपर्छ । पानी पिउनाले शरीरको विषादी पसिना र पिसाबबाट बाहिर निस्कन्छ । गर्मी मौसममा वाटरप्रुफ मेकअपको प्रयोग गर्नुपर्छ । कामकाजी महिलाले यो मौसममा हल्का मेकअप गर्नु नै राम्रो । कुनै पनि विवाह, समारोह वा पार्टीमा जाँदा धेरै चर्को लाइट हुने भएकाले, त्यस्ता लाइटले मेकअपमा चाँडै असर पार्छ र मेकअप लामो समयसम्म टिक्दैन । यस्तो समस्याबाट बच्न वाटरप्रुफ र राम्रो कम्पनीको सौन्दर्य प्रशाधनको प्रयोग गर्नुपर्छ ।

गर्मीमा न्युड लिपस्टिक प्रयोग गर्नुपर्छ । पारदर्शी गुलाबी लिपस्टिक र डिप स्मोकी आई मेकअपले आँखालाई राम्रो र कूल लुक दिन्छ । गर्मीमा मस्कारको प्रयोगले आँखामा भारीपन महसुस गराउँछ । बढी गर्मी भयो भने यो बग्छ पनि । यसो हुन नदिन कृित्रम आइलेसेज प्रयोग गर्न सकिन्छ ।

आँखालाई स्मोकी लुक दिन कालो पेन्सिलको प्रयोग गर्न सकिन्छ । गर्मीमा मेकअप गर्नुअघि पाउडर बेस ब्लस लगाउने । ब्लस रोजी पिंक भयो भने अझ आकर्षक देखिन्छ । र चिपचिप देखिँदैन । यो मौसममा फाउन्डेसन पनि पाउडर बेसको प्रयोग गर्नुपर्छ । लिक्विड बेसले बढी चिपचिप गराउँछ । यसको साटो जेल फाउन्डेसन पनि प्रयोग गर्न सकिन्छ ।