काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले मंगलबार दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सूचना निकालेका छन् । बैठक विशेष कारणबस तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभाको नियमावली अनुसार नै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।
महासचिव गौतमले राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको निर्देशनमा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको सूचनामै उल्लेख गरेका छन् । ‘‘सभाको बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्ने गरी सम्माननीय अध्यक्षज्युले निर्धारण गर्नुहुने व्यहोरा माननीय सदस्यहरुका लागि यो सूचना प्रकाशन गरिएको छ,’ महासचिव गौतमले लेखेका छन् ।
यसअघि चैत ३० गतेका लागि बोलाइएको बैठक पनि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाकै निर्देशनमा स्थगित गरिएको थियो । चैत ३० गतेका लागि बोलाएको बैठक स्थगित भएर वैशाख ४ गतेका लागि तोकिएको थियो । वैशाख ४ गतेको राष्ट्रिय सभाको बैठकले वैशाख ५ गते दिउँसो २ बजेर ३१ मिनेटमा अर्को बैठक बस्ने तय गरेको थियो । तर, मंगलबार बैठक बस्ने केही समय अगाडि मात्रै संसद सचिवालयका महासचिव गौतमले सूचना निकालेर बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी गराएका हुन् ।