काठमाडौं । उद्योगीहरूले बंगलादेशमा धागो निर्यात गर्ने तयारी गरेका छन्। बंगलादेशी सरकारले बंगलाबन्ध सुख्खा बन्दरगाहबाट धागो निर्यात गर्न अनुमति दिएसँगै उद्योगीले धागो पठाउने तयारी गरेका हुन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बंगलादेशले नेपाललाई धागो निर्यात गर्नसक्ने बेहोरा पठाएको छ। उक्त विषयसँग सम्बन्धित निर्णय बंगलादेशी सरकारले राजपत्रमा समेत सूचना प्रकाशित गरिसकेको छ।
पहिलो चरणमा परीक्षणका रूपमा दस हजार किलो धागो पठाउन लागेको नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले बताए। हामीले परीक्षणका रूपमा १० टन धागो पठाउने तयारी गरिरहेका छौं,ु रिलायन्स स्पिनिङ मिल्सका अध्यक्ष समेत रहेका गोल्यानले भने, ुएक महिनाभित्रमा पठाउँछौं। उनका अनुसार बंगाबन्ध बन्दरगाहबाट नियमित भए वार्षिक तीनरचार अर्ब रूपैयाँ बराबरको धागो निर्यात गर्न सकिनेछ।
अहिले नेपाली धागो टर्की र भारतमा निर्यात हुन्छ। पछिल्लो समय ती देशमा धागोको माग कम भएकाले बंगलादेशमा पठाउन पाए उद्योगीलाई राहत मिल्ने उनको भनाइ छ। बंगलादेशले आफ्नै उत्पादन प्रवर्द्धन गर्ने भन्दै धागो आयात रोकेको थियो। नेपाली धागो २०५८ सालदेखि नै निर्यात भएको थिएन। धेरै वर्ष अघिदेखि नेपालले धागो निर्यात खुलाउन आग्रह गरिरहेको थियो। २०७५ चैतमा बल्ल बंगलादेशको राष्ट्रिय राजस्व बोर्डले नेपाली धागो निर्यात अनुमति दिएको थियो।














