भक्तपुर । आज चैत २७ गतेदेखि भक्तपुरको विश्वप्रसिद्ध बिस्काः (बिस्केट) जात्रा सुरु भएको छ । नयाँवर्षमा भक्तपुरका नेवार समुदायले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार यो जात्रा मनाउने गर्दछन् ।
नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर जात्रा मनाइन्छ । जात्राकोलागि टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा एक महिना यो वर्ष नयाँ काठ किनेर एउटा नयाँ पाङ्ग्रा निर्माण गरिएको र अरु पाङ्ग्रा मर्मत गरिएको छ भने १६ गतेदेखि भैरवको रथको पाङ्ग्रा र विभिन्न पाटपुर्जा जडान गर्दै करिब २३ गतेसम्म प्यागोडा शैलीको तीन तले रथ निर्माण सम्पन्न गरेर रङरोगन सकिएको छ ।
रथ निर्माणका लागि दाताबाट ठूलो काठ आएको र गुठी संस्थानले रथ निर्माण तथा मर्मत आवश्यक पर्ने काठ समयमै ल्याएको छ । ५५ हात लामो, नाङ्लोजस्तो फराकिलो फेद भएको लिङ्गो जात्राका लागि चाहिन्छ, गत वर्ष दुई लिङ्गो रहेकाले यस वर्ष नयाँ लिङ्गो भने ल्याइएन, यस वर्ष २७ गते भैरवको रथ दिउँसो ३ बजे तानेर अपराह्न ५ बजे सम्पन्न गर्ने निर्णय गरिएको छ ।
पोटरीस्क्वायमा प्रजापति समाजले उठाउने बिना हातको लिङ्गो भने भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सल्लाघारीबाट ल्याइएको छ ।लिच्छवीकालदेखि सुरु भएको सो जात्रा वैशाख १ गतेभन्दा चार दिनअगाडि भैरव र भद्रकालीको रथयात्रा गरी सुरु गरिने परम्परा छ । जात्राको मुख्य आकर्षण भनेकै रथजात्रा र लिङ्गोजात्रा हो ।