भक्तपुरको बिस्केट जात्रा तयारीबारे अनुगमन

80

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको तयारीबारेमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन गरिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्व, सहायक प्रजिअ माधवप्रसाद शर्मा, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, गुठी संस्थान भक्तपुरकी प्रमुख खिमा वली, जात्रा व्यवस्थापन समितिका प्रतिनिधिलगायत जात्रासँग सम्बन्धित सरोकारवाला व्यक्तित्वहरूको सहभागितामा अनुगमन गरिएको हो ।

अनुगमनमा जात्राका लागि भैरव, भद्रकालीको रथ निर्माणको अवस्था, जात्राका लागि आवश्यक सामग्रीको अवस्था, लिङ्गो उठाउने ठाउँ ल्यासिंखेल र लिङ्गोको अवस्था, जात्राको तयारी एवं जात्राको रुटको अवस्थाका बारेमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ एवं सूचना अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए ।

जात्रा सञ्चालनका रुटमा रहेका निर्माण सामग्री हटाउन, जात्राको रूटमा रहेका विभिन्न इन्टरनेट तथा केबुल टिभीका लत्रिएका तार व्यवस्थित गर्न, जात्रा अवधिभर विद्युत् आपूर्ति नरोक्न, जात्रा अवधिभर खानेपानीको वितरण नियमित गर्न, अस्पताललाई तयारी अवस्थामा रहन, सिसी क्यामरा व्यवस्थित गर्न सरोकारवाला सबैलाई निर्देशन दिएको उनले जानकारी दिए । यस वर्ष ढुङ्गा नहानी जात्रालाई शान्तिपूर्ण रूपमा हर्षोल्लासका साथ सम्पन्न गर्न र गराउन आवश्यक तयारी गरिएको उनले जानकारी दिए ।

मध्यपुरथिमि नगरपालिकाले पनि तीन दिन भव्य रूपमा मनाइने जात्रालाई शान्तिपूर्ण र व्यवस्थित गर्न सरोकारवाला निकायसँग छलफल गरेको छ ।