काठमाडौं । भोलि शुक्रबारबाट प्रदर्शन हुन लागेको प्रमोद कँडेल निर्देशित फिल्म ‘बहाव’लाई प्रिमियरमा सुखद प्रतिक्रिया मिलेको छ । बुधबार साँझ काठमाडौंको वान् सिनेमाजमा आयोजित प्रिमियरमा उपस्थित भएका फिल्मकर्मी, राजनीतिज्ञ तथा व्यवसायीहरुले फिल्मको कथावस्तु फरक लागेको प्रतिक्रिया जनाए । कलाकारको अभिनयको प्रशंसामा पनि अधिकांश पाहुनाहरुले शब्द खर्चिएका थिए ।
एमाले नेता रघुजी पन्तले ‘बहाव’को कथावस्तु नयाँ रहेको बताए । ‘यो फिल्मले एउटा सम्भावना भएको निर्देशक फेला पारेको छ । उहाँबाट हामीले भविष्यमा राम्रो फिल्म पाउन सक्छौं भन्ने लागेको छ,’ नेता पन्तले भने, ‘स्क्रिप्ट लेखनमा केही कमी(कमजोरी छ । तर, अभिनय, संवाद, सम्पादन सबै कुराले मलाई फिल्म राम्रो लाग्यो । फिल्म पारखीहरुका लागि ‘बहाव’ नयाँ स्वाद हुन सक्छ ।’ पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा एमाले सांसद पदम गिरीले फिल्मले समाजभित्रको अन्तरविरोधलाई देखाएको बताए ।