उडिरहेको विमानभित्र पाइलटको सीटमुनि गोमन सर्प

72

बीबीसी ।  दक्षिण अफ्रिकामा विमानचालक रुडोल्फ एरास्मसका लागि त्यो नियमित उडान थियो। तर आकाशमा ११,००० फिटको उचाइमा उनले विमानभित्र थप एक यात्रु पनि रहेको भेउ पाए। तर उक्त यात्रु मानव नभई गोमन सर्प थियो जुन उनको सीटमुनि आफ्नै चालमा हिँडिरहेको थियो

एरास्मसले बीबीसीलाई भने, “साँच्चै भन्ने हो भने त्यस बेला के भइरहेको थियो भनेर मेरो मस्तिष्कले ठम्याउनै सकेन।” “त्यो ज्यादै डरलाग्दो क्षण थियो,” उनले भने। उनले त्यसअघि आफ्नो ढाडमा चिसोपन महसुस भएको र पानीको बोतलका कारण त्यसो भएको होला भन्ने लागेर आफूले वास्ता नगरेको बताए।

“मैले चिसो महसुस गरेँ, केही चिज मेरो कमिजभित्र सलबलाइरहे जस्तो लाग्यो,” उनले भने।पानीको बोतल राम्रोसँग बन्द भएन होला र त्यसैले पानी चुहिएर कमिजभित्र पस्यो होला भन्ने आफूलाई लागेको उनले बताए। “बायाँतिर फर्किएर भुइँमा हेर्दा मैले गोपन साँप देखेँ। सीटमुनि ऊ टाउको पछाडितिर फर्काउँदै थियो।” ब्लूम्फोन्टेनबाट प्रेटोरियाका लागि उडेको उक्त विमानलाई उनले आकस्मिक अवतरण गराउने निर्णय गरे।उक्त निजी ‘बीचक्राफ्ट ब्यारो ५८’ विमानमा चार यात्रु थिए।

गोमन सर्पलाई खतरनाक मानिन्छ। त्यसले टोकेको ३० मिनेटभित्रै मानिसको ज्यान जान सक्छ। धेरै मानिस उक्त सर्प सम्झनेबित्तिकै आत्तिन्छन्। त्यसैले अरू व्यक्ति नआत्तिऊन् भनेर एरास्मसले विचारपूर्वक यात्रुहरूलाई विमानभित्र “एक अतिरिक्त यात्रु पनि रहेको” जानकारी दिए। उक्त सर्पपछाडि गएको र त्यसबाट अरूहरू आतङ्कित भइसकेका छन् कि भन्ने डर उनलाई लागेको थियो।

“सियो खसेको पनि सुनिन सक्ने अवस्था थियो। मलाई लाग्छ सबै जना एक वा दुई पलका लागि हलचल नगरी बसेका थिए।” विमानचालकहरूलाई कैयौँ सम्भावित परिस्थितिबारे तालिम दिइएको हुन्छ। तर ककपिटमा सर्प देखियो भने के गर्ने भन्नेमा उनीहरूलाई खासै भनिएको नहुने उनले बताए। आफू अत्तालिएको भए अवस्था थप बिग्रिन सक्थ्यो भन्ने उनलाई लाग्छ। उक्त विमानले वेल्कम सहरमा आपत्कालीन अवतरण गरेको थियो।