गुप्तचर र सुरक्षा निकायको सुझावमा टिकटकमाथि प्रतिबन्ध !

39

काठमाडौं । देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा संघीय सरकारले टिकटकमा प्रतिबन्ध लगाएको छ । अस्ट्रेलियाको संघीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त एप्लिकेसन प्रतिबन्ध लगाइएको हो । देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा संघीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले बताए । उनले उक्त प्रतिबन्ध यथाशीघ्र कार्यान्वयन हुने पनि बताए ।

चिनियाँ प्राविधिक कम्पनी बाइटेन्सले आफ्नो स्वामित्वको टिकटकमा आबद्ध व्यक्तिका विवरण चीन सरकारलाई उपलब्ध नगर्ने भन्दै अमेरिकी प्रयोगकर्ताका विवरणलाई पनि चीनको पहुँचबाहिर राख्ने जनाएको छ । यसअघि, संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य र न्युजिल्यान्डले उक्त एप्लिकेसनमाथि प्रतिबन्ध लगाइसकेका छन् । युरोपेली संसद्, युरोपेली आयोग र २७ सदस्यीय युरोपेली संघका तीन प्रमुख संस्थाले पनि आफ्ना कर्मचारीका उपकरणमा टिकटक निषेध गरेका छन् । ती संस्थाले कर्मचारीलाई आफ्ना मोबाइल फोनबाट टिकटक हटाउन आग्रह गरेका छन् ।