सुदूरपश्चिम सरकारले पाएन पूर्णता

88

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री नियुक्त भएको दुई महिना पुग्नै लाग्दा पनि पूर्णता पाउन सकेको छैन।मुख्यमन्त्री कमल शाहले प्रदेशसभाबाट विश्वासको मत पाएको पनि एक महिना पूरा हुँदैछ। तर चार दलीय गठबन्धनका मुख्यमन्त्री शाहले प्रदेश सरकारलाई पूर्णता दिन भने अझै सकेका छैनन्। सरकारलाई पूर्णता दिएर जनताका काम गर्न सदन र सरकार लाग्नुपर्नेमा सत्ता गठबन्धन गैरजिम्मेवार रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आरोप लगाएको छ। सत्तापक्षीय दलहरू र केन्द्रीय नेताहरूबीच मन्त्रालय भागबन्डामा सहमति हुन नसकेपछि सुदूरपश्चिमको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो।

सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच समझदारी भएपछि प्रदेश सरकारले पूर्णता पाउने नागरिक उन्मुक्तिका संसदीय दलका नेता रामेश्वर चौधरीले बताए। ‘हाम्रो पार्टी पनि हाइकमान्डबाट चल्छ, अन्य पार्टी पनि हाइकमान्डबाट चल्ने गरेका छन्। मन्त्रालय भागबन्डाको कुरा केन्द्रमा भएको छैन,’ उनले भने, ‘प्रदेश सरकारले पूर्णता पाउने समझदारी केन्द्रमा भयो भने लगत्तै प्रदेश सरकारले पूर्णता पाइहाल्छ।’

सुदूरपश्चिममा सरकारले पूर्णता नपाउँदा प्रदेशसभाले पनि बिजनेस पाएको छैन। निर्वाचन भएको पाँच महिना पुग्दा पनि चार दलीय गठबन्धनले सरकारलाई पूर्णता दिन सकेका छैनन्। सत्ता गठबन्धन जनताका कामप्रति जिम्मेवार र गम्भीर नभएकाले सरकार र सदनको काम ठप्प भएको नेकपा एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठकको आरोप छ।

‘मुख्यमन्त्रीले विश्वासको मत पाएको पनि एक महिना भइसक्यो तर सरकारले अझै पूर्णता पाएको छैन,’ उनले भने, ‘सरकारले पूर्णता नपाउँदा सदनले बिजनेस पाएको छैन। सरकारबाट हुनुपर्ने जनताका काम पनि प्रभावित भएका छन्।’मुख्यमन्त्रीसहित सात सदस्यीय प्रदेश मन्त्रिपरिषद् रहेको सुदूरपश्चिममा चार मन्त्रालय पुस २७ देखि रिक्त छन्। गत २६ माघमा नियुक्त भएका मुख्यमन्त्री शाहले २७ माघमा दुई मन्त्री नियुक्त गरेका थिए।

कांग्रेसबाट प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास र एकीकृत समाजवादीबाट नरेशकुमार शाही आर्थिक मामिलामन्त्री रहेका छन्। अन्य चारवटा मन्त्रालयको कार्यभार अहिले मुख्यमन्त्रीले नै सम्हालेका छन्।मुख्यमन्त्री कमल शाहले केन्द्रमा प्रदेस सरकार पूर्णताबारे छलफल भइरहेको र एक हप्ताभित्रै टुंगिने बताएका छन्। खासगरी सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादी पार्टीबीच मन्त्रालयमा सहमति हुन नसकेपछि सरकार पूर्णतामा ढिलाइ भइरहेको नेपाली कांग्रेसका एक प्रदेशसभा सदस्यले बताए। -deshsanchar